
लिम्बुवानखबर, १८ असाेज । नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा पूर्व खानेपानी तथा सरफाई मन्त्री दीपक खड्का निर्वाचित भएका छन् ।
सोमबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार खड्का जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि आइतबार मतदान भएको थियो । कुल खसेको १३५२ मतमध्ये खड्काले ११९८ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी राइमान राई भारी मतले पराजित भएका छन् । खड्का संस्थापनइत्तरका नेता हुन् ।
यस्तै संखुवासभा उपसभापतिमा रामकुमार जिमी, अनन्त गौली, सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको जारी अधिवेशनअन्तर्गत अहिलेसम्म ६ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको कांग्रेसले जनाएको छ । कांगेसले जनाए अनुसार मनाङ, मुस्ताङ, हुम्ला, कालीकोट, रुकुमपूर्व र संखुवासभामा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।