प्रजातान्त्रीक आन्दोलनका योद्धा दुलालको स्मृतीमा पत्रकारिता पुरस्कार

 लिम्बुवान न्युज
                       

झापा । प्रजातान्त्रीक आन्दोलनका योद्धा रामप्रसाद दुलालको स्मृतीमा इलाममा जिल्लाकै सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ । नेपाल प्रेस युनियन इलामले फिक्कलमा आयोजना गरेको विजयादशमी, दिपावली, छठ र नेपाल संवतको शुभकामना आदान प्रदान कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको हो ।

दुलाल परिवार र नातीनातीनाको तर्फबाट युनियनका केन्द्रिय सदस्य माधव प्रसाद चम्लागाईले प्रत्येक बर्ष कृषि, पर्यटन, शिक्षा लगायतको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान गर्ने पत्रकारलाई प्रदान गर्ने गरी राम प्रसाद दुलाल (जिल्ला बा) स्मृती पत्रकारिता पुरस्कारको घोषणा गरेका हुन् ।

प्रत्येक वर्षको दशैं र तिहारको विचमा वितरण गर्ने सो पुरस्कारको राशि २० हजार रुपयाँ नगद रहने र इलामलाई आधार बनाएर इलाम भित्र र बाहिर रहेका पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने चम्लागाईँले जानकारी दिए । पुरस्कारको व्यवस्थापन तथा संयोजन नेपाल प्रेस युनियन इलामले गर्ने जनाइएको छ । इलाममा नेपाल पत्रकार महासंघले स्थापना गरेको आशिष स्मृती पत्रकारिता पुरस्कार प्रत्येक वर्षको बैशाख १ गते प्रदान गरिने गरेको छ । पुरस्कार घोषणाले जिल्लामा बसेर पत्रकारीता गर्ने पत्रकारहरुलाई हौसला थपेको युनियनकी जिल्ला अध्यक्ष सविता पाण्डेले बताइन् ।

२०१५ सालको चुनावी अभियानमा प्रजातन्त्रको पक्षमा उभिएका प्रजातान्त्रिक योद्धा दुलालले नेपाली कांग्रेसको इलाम जिल्लाको सभापतिको भुमिकामा समेत काम गरेको इतिहास छ । उनकै स्मृतिमा उनका छोराछोरी र नातानातिनाहरुले पुरस्कारका लागि अक्षयकोष खडा गरेर बर्षेनी पत्रकारलाई सम्मान गर्न लागेका हुन् ।
युनियनकी इलाम अध्यक्ष पाण्डेको सभापतित्वमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि चम्लागाईले पत्रकारिता क्षेत्रमा अहिले पनि संकट रहेको बताए । चम्लागाई रामप्रसाद दुलालकी काइली छोरी चन्द्रकला चम्लागाईका छोरा हुन् । उनी दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । हाम्राकुरा डटकमका संस्थापक रहेका चम्लागाई पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य समेत हुन् । उनकै अगुवाइमा पुरस्कार कोष स्थापना भएको हो । आगामी दिनमा रामप्रसादको स्मृतिमा प्रतिष्ठान नै खडा गरेर विभिन्न सामाजिक कामहरु गर्ने योजना परिवारको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न १ का सदस्य तोयानाथ भट्टराई, पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, अग्रज पत्रकार प्रभाकर प्रधान, जीवन शर्मा, नेपाल बन पैदावार व्यवसायी संघका केन्द्रीय अध्यक्ष रोहित खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा युनियनलाई निरन्तर सहयोग गर्ने नेपाल बन पैदावार व्यवसायी संघलाई सम्मान गरिएको थियो ।

२००७ सालमा प्रजातन्त्र प्राप्तीको आन्दोलनदेखि राजनीतिक आन्दोलन साथै सामाजिक, शैक्षिक, कृषि क्षेत्रको विकासमा अनवरत खटिएका राम प्रसाद दुलाल इलाममा ‘जिल्ला बा’भनेर परिचित थिए । नेपाली कांग्रेसका पूर्व महामन्त्री केबी गुरुङ, पाका नेता तोयानाथ भट्टराईलगायतसँग सहकार्य गर्दै प्रजातन्त्र स्थापना र बहुदलीय व्यवस्थाको माग साथै ०३६ र ०४६ सालको आन्दोलनमा क्रियाशील थिए ।

०३६ सालमा बहुदल प्रचार प्रसार समितिका संयोजक भएका उनी आधिकारिक प्रमाण नभए पनि २०२१–०२२ सालमा नेपाली कांग्रेस इलाम सभापति भएको बताइन्छ ।
रामप्रसादका जेठा छोरा जीवन प्रसाद दुलाल उहाँ कांग्रेस पार्टीमा मात्र नभइ समाजसेवा, विकास निर्माण, कृषि र शिक्षाको प्रवद्र्धनमा पनि क्रियाशील हुनुभएको स्मरण सुनाउँछन् ।

रामप्रसाद राजनीतिसँगै कृषिको विकास र प्रवद्र्धनमा पनि उत्तिकै सक्रिय थिए । कृषिलाई व्यवसायीकरण गर्नुपर्छ भनेर निरन्तर क्रियाशील थिए । चिया, छुर्पीको उत्पादनमा पनि पहल गरेका थिए । इलाममा शिक्षाको विकास गर्न पनि उनको उल्लेख्य योगदान रहेको बताइन्छ ।

सम्बन्धित समाचार

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

;