काठमाडौं, ११ कार्तिक । प्रतिनिधिसभाको बैठक १८ दिन स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे ।
सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे । सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत ग¥यो । त्यसपछि सभामुख सापकोटाले अर्को बैठक कात्तिक २९ गते दिउँसो १ बजे बस्ने जानकारी दिए ।
बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी कायमै रहेका छन् । सभामुख सापकोटाले ‘प्रतिनिधिसभाको कामकारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरेका थिए ।
२३ साउन २०७८ बाट शुरु भएको चालु अधिवेशनमा एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने माग निरन्तर राख्दै आएको छ ।
तर, सभामुख सापकोटाले यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भनेर एमालेलाई सम्झाउँदै आएका छन् । एमालेले भने १४ जना सांसद कारबाहीमा परेको सूचना टाँस नगर्ने भए सभामुखले राजीनामा दिनुपर्ने बताएको छ ।