काठमाडौंमा किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं । किरात राईहरुले कात्तिक २७, २८ र २९ गते काठमाडौंमा ‘किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०७८’ गर्ने भएका छन् । राईहरुको भाषा, धर्म, संस्कार, संस्कृति, लिपि, कला, साहित्य, इतिहास र पहिचानको संरक्षण एवम् विकास गर्नका लागि खोज–अनुसन्धान गर्ने र विश्वभरि रहेका किरात राईहरुलाई एकताको सुत्रमा बाँध्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागेका हुन् ।

कात्तिक २७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मेलनको उद्घाटन गर्नेछन् भने २८ र २९ गते ललितपुरको तिखेदेवलस्थित यलखिममा बन्द–सत्र हुनेछ ।

सम्मेलन सम्पन्न गर्नका लागि किरात राई यायोक्खा तथा किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष दिवस राईको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ भने ११ वटा विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

सम्मेलनमा १८ वटा विदेश शाखा तथा सम्बन्धन संस्थाहरु, २६ वटा किरात राईजन्य भाषिक संस्थाहरु, २ वटा किराया प्रदेश समन्वय समितिहरु, ८ वटा भातृ संस्थाहरु र २३ वटा जिल्ला कार्य समितिहरुबाट तथा अग्रज अभिभावक र विषयविज्ञहरुसहित ३७५ जनाभन्दा बढी प्रतिनिधिहरु सहभागी हुने किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

सम्मेलनमा राष्ट्रिय जनगणना, किरात इतिहास र राई जाति, किरात राई भाषाहरुको अवस्था, किराती भाषामा आलेखन र लिपि प्रयोग, किरात धर्म र माङखिम, मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग, किरात प्रदेश अभियान शीर्षकमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुनेछ भने सोबारे व्यापक छलफल गरी निष्कर्षका आधारमा घोषणा–पत्र जारी गरिनेछ ।

सम्मेलनको उद्घाटन समारोहमा प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईसहित मन्त्रीहरु, संघ तथा प्रदेशका सांसदहरु, पूर्वमन्त्रीहरु, संवैधानिक निकायका सदस्यहरु लगायतको उपस्थिति हुनेछ ।

कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार जीतेन राई, चर्चित गायक राजेश पायल राई, गायिका पार्वती राई, गायक भीषण मुकारुङ, हाँस्य कलाकार फुलन्देकी आमा (उमेश राई), बासुरी वादक नगेन्द्र राई र किरात राई सांस्कृतिक कलाकार संघको विशेष प्रस्तुती हुनेछ ।

सभागृह परिसरमा साकेला सिली प्रस्तुतीका साथै साकेला महोत्सव समेत गरिने आयोजकले जनाएको छ ।

यसअघि २०६७ चैत २७ र २८ गते पहिलो र २०७१ फागुन ९ र १० गते दोस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...