नेपाल आदिवासी जनजाति महासंघको अपीलः जनगणनामा सही तथ्यांक भरौं

 लिम्बुवान न्युज
                       

कार्तिक २४ । नेपाल आदिवासी जनजाति महासंघले भोलि कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने १२औं राष्ट्रिय जनगणनामा सचेत भएर सहभागी हुन आह्वान गरेको छ ।

जनगणना सुरु हुने पूर्वसन्ध्यामा बुधबार अपील जारी गरेर महासंघले जनगणनामा आदिवासी जनजाति समुदायले आफ्नो जातीय पहिचान स्थापित हुनेगरी सहभागिता जनाउन अपील गरेको हो ।

१०/१० वर्षमा आयोजना हुने राष्ट्रिय जनगणनाले देशको सम्पूर्ण जनसंख्या तथा बसोबासको स्थितिलाई सही र आधिकारिक तरिकाले चित्रण गर्नुपर्ने भन्दै महासंघले नेपालमा बसोबास गरिरहेका सबै जनसंख्याका भाषा, धर्म, सांस्कृतिक विशिष्टता, पृथक् जात तथा जातीय अवस्थालाई जनगणनामा न्यायोचित र विधिसम्मत् तरिकाले नसमेटिएसम्म कुनै पनि जनगणना तथ्यपरक र विज्ञानसम्मत् नहुने जिकिर गरेको हो ।

जारी अपीलमा भनिएको छ –‘त्यसैले हाम्रा जनसांख्यिक विशेषता जे हो, जनगणनामा त्यही देखिनुपर्छ । दशकौँदेखि आदिवासी जनजातिहरूले त्यही भन्दै आएका छन् । तर पनि विगतका जनगणनाको परिणाम हाम्रा लागि कतिपय अवस्थामा तथ्यांक होइन, मिथ्यांक साबित भयो । अब मिथ्यांक मात्र भन्दै हात बाँधेर बस्नु हुँदैन, बरू सही तथ्यांक बनाउन सक्रिय हुनु आवश्यक छ । यस पटकको जनगणनालाई आदिवासी जनजातिहरूले सही तरिकारले प्रयोग गर्दै हाम्रो सामाजिक संरचनाको वस्तुगत विशेषता र बहुलता अनुसारको जनगणना बनाऔँ । यसको लागि अबको पन्ध्र दिन जागरूक रहौँ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले संविधान र राज्यमा आदिवासी जनजातिको पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको भन्दै महासंघले राज्य व्यवहारतः आदिवासी जनजातिको भाषा, संस्कृति र धर्ममैत्री बनिनसकेको दावी गरेको छ । तथ्यगत, भरपर्दो र विश्वसनीय तथ्यांक निर्माण गर्न आदिवासी जनजातिहरू सजग रहन अति जरूरी रहेको जिकिर गर्दै उसले भनेको छ –‘जनगणनामा देखाउने हाम्रो सजगता र रचनात्मक हस्तक्षेपले मात्र एकल जात–जातीय, भाषिक, सांस्कृतिक र धार्मिक मिथ्यांकलाई सच्याउन महत्वपूर्ण भूमिका खेल्छ । अनि मात्र हामी पनि राज्यको तथ्याङ्कप्रति विश्वस्त हुने स्थिति बन्छ ।

महासंघले अपीलमार्फत जनगणनाका लागि घरघरमा आउने गणकहरुले लिने तथ्यांकका विषयामा मुख्य विभिन्न ८ वटा वुँदाहरुमा ध्यान दिन र सही विवरण उल्लेख गराउन आह्वान गरेको हो ।

यस्ता छन् मुख्य वुँदा
१) आ–आफ्नो जाति/जनजातिको नाम, मातृभाषा, पुख्र्यौली भाषा, धर्म प्रष्ट रूपमा लेख्न लगाउने । आफ्नो मौलिक पहिचाजनित धर्म नभएको र आदिवासी जनजातिहरूमाथि औपनिवेशिक राज्यले निरन्तर जर्बजस्त रूपमा थोपरिएको धर्म ‘हिन्दू धर्म’ नलेखाउने । जाति, भाषा, धर्मबारे आफू सङ्लग्न/सम्बन्धित आदिवासी जनजाति समुदायको प्रतिनिधिमूलक संगठन/संस्थाले गरेको निर्णयअनुरूप लेखाउने । जाति, धर्म, मातृभाषाजस्ता महल दुरूस्त भरे/नभरेको हेर्ने ।
२) परिवारका सङ्ख्या अक्सर घरैमा बसोबास गर्नेको सङ्ख्या लेखाउने, सँगसँगै परिवारमा अक्सर नबस्ने स्वदेशमा वा विदेशमा बसोबास गर्नेको संख्या खुलाउने ।
३) पूरा भएको उमेर, वैवाहिक स्थिति (१० वर्षभन्दा माथिकाले मात्र), पढ्न–लेख्न जानेको/नजानेको (५ वर्षभन्दा माथिकाले मात्र), यदि जानेको भए कतिसम्म पास गरेको र कलेज, विश्वविद्यालय स्तर उत्तीर्ण गरेको भए कुन विषयमा कति भन्ने प्रष्टसँग लेखाउने ।
४) जन्मस्थान जिल्ला, देश कहाँ भएको, हालसम्म आमा (१५–४९ वर्षका महिलाले मात्र)को गर्भबाट जन्मेको, जीवित, मरेको र कुल छोराछोरी खुलाउने ।
५) घरपरिवारमा कोही शारीरिक अपाङ्गता भएमा कस्तो प्रकारको हो, प्रष्टसँग खुलाउने ।
६) घरपरिवारमा लैङ्गिक तथा यौनिक अल्पङ्ख्यक भएमा कस्तो प्रकारको हो, प्रष्टसँग खुलाउने ।
७) गएको एक वर्षमा कुनै आम्दानी हुने काम गरेको छ भने के काम गरेको, कहाँ गरेको, नगरेको भए के कारणले नगरेको खुलाउने ।
८) प्रश्नावली भरिरहँदा गणकले विभिन्न कोड भर्दा सही कोड भरेको–नभरेकोबारे यकिन गर्ने । गणकले पेन्सिल वा मेट्न मिल्ने सामग्रीले लेखेको छ भने डटपेन प्रयोग गर्न लगाउने, आदि ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...