
दमक, ११ मंसीर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा नवनिर्मीत भवनको उद्घाटन गरेका छन् । शनिवार शिविरमा एक कार्यक्रम बीच मुख्यमन्त्री राईले भवनको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै मुख्यमन्त्री राईले शिविरमा बस्दै आएका वृद्धावृद्धालाई लक्षित गरि निर्माण गरिएको भवन बनाउने व्यक्ति भगवान सरह भएको बताएका छन् । मुख्यमन्त्रीले भवन उद्घाटनसंगै मेरो डान्स कप (यूएस ) र मेरो भ्वाइस कप (यूएसए) प्रतियोगिताको समेत शुभारम्भ गरेका छन् ।
उनले कलाकारहरूलाई पनि नजिकबाट चिनेको र कला, संस्कृतिको विकास गर्न प्रदेश सरकार प्रतिवद्ध भएको औल्याए । उनले गायिका रचना रिमालसहितका कलाकारहरूले नेपाली कला, संगीतमा पुरयाँएको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा नायकहरू रमित ढुङ्गाना, दिलीप रायमाझी, सन्जीव भण्डारी, नायिकात्रय केकी अधिकारी, वर्षा रावत, वर्षा बस्नेत लगायत कलाकारहरुको उपस्थिति रहेको थियो ।
लोक गायक प्रेमराजा महत, गायकगायिका क्रमशः प्रमोद खरेल, निशान भट्टराई, रचना रिमाल, अस्मिता अधिकारी, प्रवीण वेडवाल, नृत्यकार करिष्मा ढकाल, शंकर विसी, मोडल ऋचा थापा लगायतको उपस्थिति रहेको थियो । साथै, भ्वाइस अफ नेपालबाट उदाएकी नवगायिका सन्जु मोक्तान लगायतका कलाकारहरुले आफनो प्रस्तुति दिएका थिए ।
यस्तै, ३ दशक भन्दा अघिको निकै पुरानो लोकप्रिय गीत बाँझो खेतमा छड्के सलाम छ गाएर लोकगायक प्रेमराजा महतले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भने उनले पानको पात ‘बोलको गीत पस्किरहदा मुख्यमन्त्री राजेन्द्र राईसँगै नायिकाहरू केकी अधिकारी, वर्षा रावत र वर्षा बस्नेत , हाँस्यकलाकार सन्दीप क्षेत्रीले कम्मर मर्काई मर्काई नाँचेका थिए ।
ईन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित कार्यक्रममा झापा र मोरङका भुटानी शरणार्थी शिविरमा रहेका सबै वृद्धवृद्धालाई ५ हजारका दरले मासिक भत्ता आजीवन उपलव्ध गराउने सोहि अवसरमा फाउण्डेशनका अध्यक्ष डिल्लीराम अधिकारीले जनाएका हुन् ।
शनिबार साँझमा समेत राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिएका छन् ।