
लिम्बुवानखबर, १५ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनबाट अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित हुन प्रतिनिधिहरुले मतदान शरु गरेका छन् ।
अध्यक्ष पदमा सर्वसहमति हुन नसकेपछि आज (मंगलबार) विहान करिव ४ बजेदेखि मतदान शुरु भएको हो । मतदान अध्यक्षका उम्मेदवारद्धय केपी शर्मा ओली र भीम रावलबाट एकैसाथ लगाउँदै शुरु गरेका छन् ।
अध्यक्षका प्रत्यासी रावलले प्रतिनिधि छनौटमा नै विवाद भएको अवस्थामा लोकतान्त्रिक प्रकृयालाई स्वीकार गरेको संचारकर्मीहरुलाई प्रतिक्रिया दिएका छन् ।

निर्वाचन आयोगबाट प्राप्त सूचना अनुसार अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै ७ वटा क्लस्टरका केन्द्रीय सदस्यहरुका लागि चुनाव भइरहेको छ ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेद्वार छन् भने ६ उपाध्यक्षका लागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ् उम्मेद्वार छन् ।
यसैगरी सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा उत्रिएका छन् ।
यस्तै केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश १ को खुला ६ तथा महिला ३ सदस्यका लागि चुनाव भइरहेको छ भने । सुदूर पश्चिम प्रदेशको महिला ३ सदस्यका लागि पनि चुनाव हुने भएको छ । त्यस्तैगरी दलित खुला ८, थारु खुल्ला ५ र पिछडिएको क्षेत्र खुल्ला ३ सदस्यका लागि पनि चुनाव भइरहेको बताइएको छ ।
उपमहासचिवमा प्रदीप ज्ञवाली निर्विरोध निर्वाचित भइसकेका छन् । सर्वसम्मतिको प्रयास असफल भएपछि लोकतान्त्रिक प्रतिस्पर्धाबाटै नेता चुन्ने प्रकृयालाई सहज र स्वभाविक भएको नेता ज्ञवालीले बताए ।