
काठमाडौं, १२ पौष । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदैछ । करिब १६सय प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने जनाइएको छ । आइतबार सोही स्थानमा महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधान लगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुने जनाइएको छ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २० वा सो भन्दा बढी समूहमा बिभाजन गर्ने तयारी भएको स्रोतले बतायो ।
नयाँ विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश भएको छ । एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।
राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रको अध्यक्षमा निर्विकल्प प्रचण्ड नै दोहोरिने निश्चित छ । अन्य पदहरुमा भने आकांक्षी धेरै छन् । सकेसम्म सहमतिमा नभए निर्वाचनबाट कार्यसमिति चयन गर्ने माओवादीको तयारी छ ।