
लिम्बुवानखबर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशन १ महिना पर सरेको छ । अब फोनिज महाधिवेशन आगामी चैत ६ र ७ गते चितवनको सौराहमा नै हुने भएको छ ।
यहि फागुन ७ र ८ गते महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएपनि कोरोना महामारीका कारण महाधिवेशन सार्नुपरेको फोनिज संघीय समितिले जनाएको छ । २ गते बसेको संघीय सचिवालयले निर्णय गरेको संघीय सचिव कमन देवानले बताएका छन् ।
कोरोनाकै कारण फोनिजले सातौं संघीय महाधिवेशन दोस्रो पटक सरेको हो । यसअघि माघ ७ र ८ गते गर्ने भनिएको महाधिवेशन फागुन ७ र ८ मा सारेको थियो ।
बैठकले प्रादेशिक महाधिवेशन सम्पन्न गर्न बाँकी प्रदेशहरुलाई २०७८ फागुन २० गते भित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन गरिएको महासचिव मनोज घर्तीमगरले जानकारी दिएका छन् ।
बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्न बाँकी रहेका सबै जिल्लाहरुलाई प्रादेशिक महाधिवेशन भन्दा ढिलोमा १० दिन अगाडि नै अधिवेशन सम्पन्न गर्न ध्यानाकर्षण गराएको छ ।