
लिम्बुवानखबर, २४ फाल्गुन । आज मार्च ८ तारिक अर्थात ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
विश्वको हरेक राष्ट्रहरुले हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गर्दछन् । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिन्छ ।
सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ । यस्तै नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्री र राजनैतिक दलका प्रमुखहरुले पनि शुभकामना व्यक्त गरेका छन् ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । सोही सम्मलेनले गरेको निर्णयलाई पारित गर्दै हरेक सन् २०११ मार्च ८ देखि निरन्तर यो दिवस मनाउन थालिएको छ ।