
विराटनगर, ७ चैत्र । लेटाङमा स्थानीयको आक्रमणबाट एक प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आइतबार सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।
लेटाङ नगरपालिका वडा नं. ३ र ४ को दक्षिण तर्फ गंगेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा तर्फ वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रजिअ दाहालद्वारा जारी आदेशमा उल्लेख छ ।
यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आइतबार स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो ।
यसैक्रममा नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनको घाँटीमा गम्भीर चोट लागेको थियो ।
पौडेलमाथि गत शुक्रबार छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । आरोपी शिक्षकलाई पक्राउ गर्न प्रहरी पुगेपछि आक्रोशित भीडले आक्रमण गरेको थियो ।
घटना सार्वजनिक भएपछि शिक्षक विद्यालयमै रहेको सूचना पाएका स्थानीयले स्कुल घेराउ गरेका थिए । आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको स्थानीयवासीले बताएका छन् ।
