
लिम्बुवानखबर, ५ जेठ । कैलालीको भजनी नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी वियजी भएको छ ।
नगरपालिकाको मेयरमा उन्मुक्तिका उम्मेदवार केवल चौधरी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शेरबहादुर चौधरीलाई ३ हजार बढी मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
केवलले ८ हजार ९६६ मत ल्याउँदा माओवादी केन्द्रका शेरबहादुरले ५ हजार १९८ मत मात्र पाएका छन् । यस्तै नेकपा एमालेका हर्कबहादुर बुढाले ३ हजार २६२, जनता समाजवादीका लक्ष्मीराम चौधरीले १ हजार ४६५ ल्याएका छन् ।
यस्तैगरी नगरपालिकाको उपमेयरमा पनि नागरिक उन्मुक्तिकै राजु तिरुवा निर्वाचित भएकी छन् । तिरुवाले निकटतम प्रतिस्पर्धी कांग्रेसका गोकेन्द्र भण्डारीलाई ३ हजार बढी मतले हराउँदै निर्वाचित भएका हुन् ।
तिरुवाले ७ हजार ६२२ मत ल्याउँदा कांग्रेसका भण्डारीले ४ हजार ४९० मत मात्र पाए । यस्तै एमालेका तुलसी चौधरीले ३ हजार १६३, जनता समाजवादीकी कमला ढुंगानाले १ हजार ५७९ ल्याएकी थिइन् ।
यस्तै चाैधरीकाे पार्टीले यस अघि टिकापुर नगरपालिका र जाेशीपुर गाउँपालिकाकाे प्रमुख जितेकाे छ । भजनीसँगै उन्मुक्तिले ३ वटापालिकामा विजयी हासिल गरेकाे छ ।