जनमत पार्टीले जितेका मेयरको प्रतिबद्धताः अति विपन्नलाई रासन कार्ड र वृद्ध किसानलाई पेन्सन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १० जेठ । जनमत पार्टीले जितेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले जनताको घरदैलोमै पुगेर जन्म, विवाह र मृत्यु दर्ता बनाइदिने भएको छ ।
नव निर्वाचित मेयर वीरेन्द्र माझीले जन्म, विवाह र मृत्यु दर्ताका साथै बृद्धभत्ता पनि घरमै पुगेर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त जनाएका छन्् । उनले सोमबार लिखित प्रतिवद्धता सार्वजनिक गर्दै विपन्न परिवारलाई रासन कार्ड र वृद्ध किसानलाई पेन्सन उपलब्ध गराउने बताएका छन् ।
‘नगरपालिकाभित्र भोकै बस्नुपर्ने अवस्थाका अति विपन्न वर्ग परिवारको पहिचान गरी उनीहरुलाई रासन कार्ड उपलब्ध गराइने र सुकुम्बासीको पहिचान गरी प्रदेश र संघीय सरकारको समन्वयमा उनीहरुलाई भूमि उपलब्ध गराइनेछ’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘जग्गा र घर समेत नहुने अति विपन्न वर्ग परिवारलाई पहिचान गरी उनीहरुलाई एकीकृत वस्ती मार्फत् वासको व्यवस्था गरिनेछ ।’
लुगाको समस्या हुनेका लागि नगरपालिकाभित्र क्लथ बैंक स्थापना गरिने र त्यहाँबाट निःशुल्क लुगा उपलब्ध गराउने मेयर माझीको प्रतिवद्धता छ ।
किसानलाई विभिन्न भागमा वर्गीकरण गरी किसान कार्डको व्यवस्था गर्दै निःशुल्क कृषि मिटर उपलब्ध गराउनुका साथै नगरपालिकाले तोकेको हदसम्म कृषि बिजुली निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता पनि माझीले गरेका छन् ।
‘नगरपालिकामा कृषि औजार लाइब्रेरी स्थापना गर्दै वैकल्पिक जिविकोपार्जन नहुने किसानको पहिचान गरी वृद्ध किसानको लागि किसान पेन्सन योजना लागू गरिनेछ’ प्रतिबद्धता पत्रमा भनिएको छ ।
नगरपालिकाभित्र तोकेको मापदण्ड पुग्ने हरेक नागरिकलाई कम्तीमा न्यूनतम स्वास्थ्य बीमा उपलब्ध गराउन र नगरपालिकाभित्रका अस्पतालमा निःशुल्क औषधिको व्यवस्था गर्न पहल गरिने तथा वृद्ध तथा अशक्तलाई घर घरमा चिकित्सक गएर नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने पनि प्रतिबद्धता गरिएको छ ।
नगरपालिकाको वडा नम्बर १ र ४ मा झोला र बनाना चिप्स उद्योग खोलेर वा खाल्न लगाएर पहिलो चरणमा सयदेखि १ सय ५० जनाले रोजगारी पाउने व्यवस्था गरिने पनि मेयर माझीले बताएका छन् ।
डा. सिके राउतको जनमतले मतगणना भईसकेको २ स्थानीय तह प्रमुख जितेको छ भने एउटा उपप्रमुख जितेको छ । (अनलाइनखबरबाट)

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;