लिम्बुवानखबर, १२ जेठ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउन अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको मतपरिणाम आउन बाँकी रहेको आयोगले जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको हो ।
७५३ स्थानीय तह मध्ये ७४९ वटा तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी काठमाडौं महानगरपालिका सहित प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको आयोगले जनाएको छ ।
त्रियुगामा भने मतदानमै विवाद भएका कारण ढिलो गरी मतगणना सुरु भएकोले मतपरिणाम आउन समय लागेको हो । यसैगरी सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।
सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ।
यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा छ भने १ महानगर, १ उपमहानगरसहित २० पालिका जितेको नेकपा एकीकृत समाजवादी पाँचौ स्थानमा छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४–४ पालिकामा प्रमुख पद जितेका छन्।
सिके राउत नेतृत्वको जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १–१ पालिकामा प्रमुख पद जितेका छन् ।