
सुनसरी, १९ असार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय उपाध्यक्ष भूपु डिएसपी कृष्णमान थेवे र संघीय आमाको उपनामले चिनिएकी मञ्चको सचिवालय सदस्य तथा महिला मञ्चकी उपाध्यक्ष सावित्रा पंधाक सम्मानित भएका छन् ।

शनिबार धरानस्थित मञ्चको जिल्ला कार्यालयमा संघीय लिम्बुवान महिला मञ्च जिल्ला कार्य समिति सुनसरीको आयोजनामा आयोजित आयोजित कार्यक्रममा द्वय नेताहरु सम्मानित भएका हुन् ।

लामो समय देखि पहिचान र लिम्बुवान आन्दोलनलाई निरन्तर साथ सहयोग गरिरहनु भएका द्वय नेता धरानका स्थायीबासी हुन् । लामो समय राष्ट्र सेवक भएर देश जनताका लागि योगदान पुराएका थेवेले लिम्बुवान आन्दोलनलाई समेत दशकौं देखि निरन्तर साथ सहयोग गरिरहेका छन् । त्यसैगरी ०६२/०६३ को जनआन्दोलनसँगै स्थापित भएको संघीय मञ्चलाई निरन्तर हर तरहबाट सहयोग गर्नु हुने पन्धाकलाई मञ्चले संघीय आमाको उपमा दिएका छन् ।

कार्यक्रम मञ्चका जिल्ला अध्यक्ष सरस्वती सुब्बाको अध्यक्षतामा भएको थियो । मञ्चका सुनसरीमा रहेका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सुनसरी जिल्लाका महिला नेत्रीहरु, धरान उपमहानगरका महिला नेत्रीहरुको उपस्थिति रहेको सुनसरी जिल्ला अध्यक्ष अमर इजमले लिम्बुवान खबरलाई बताए ।