मुन्धुमी मिथक नाटक ‘सिमिक्वा’को आज अन्तिम मञ्चन हुँदै

 लिम्बुवान न्युज
                       


दमक, ३२ असार । दमकस्थित कदम थिएटरमा असार २७ गते देखि प्रदर्शन हुँदै भईरहेको किरात धर्मग्रन्थ मुन्धुममा वर्णित सिमिक्वा (सिबिउ) चरीको पुराकथामा आधारित नाटक ‘सिमिक्वा’ को आज अन्तिम मञ्चन हुँदैछ ।
ढुङ्गे युगमा एक जंगलको ओडारमा वृद्धा आमा र किशोरी छोरी जीवनयापन गरिरहेका हुन्छन्। साँझ–बिहानको गर्जो टार्न आमा च्याउ र कन्दमूल खोज्न जंगल जान्छिन्। सिमिक्वा (छोरी) चञ्चले छिन्। बाँसको धिरीमा पानी जोहो गर्नु, वनमा ऐंसेलु लगायतका फलफूल टिपी खानु सिमिक्वाको दैनिकी हुन्छ ।


एकदिन सिमिक्वाले आमालाई दिनहुँ च्याउ खाँदा दिक्क लागेको सुनाउँछिन् । छोरीको खुशीका निम्ति आमा गिठ्ठा‚ भ्याकुर खोज्न जंगल जान्छिन् । साँझमा घर फर्किन्छिन् । थकान र तिर्खाले लखतरान भएकी उनले छोरीलाई पानी माग्छिन् । यहीवेला उनको आँखा अघिल्लो दिन जम्मा गरेको च्याउमा पर्छ । च्याउ अघिल्लो दिनभन्दा धेरै नै कम देख्छिन् । त्यसैले च्याउ राम्रो हेरचाह नगरेकाले चरा, मुसाले खाएको भनी उनले छोरीलाई गाली गर्छिन् ।
सिमिक्वाले आफ्नो गल्ती नभएको बताउँछिन् । छोरी मुखमुखै लागेको देखेर आमा क्रुद्ध हुन्छिन् र सिमिक्वालाई एकदुई लपेटा हान्छिन्, सराप्छिन् । सिमिक्वाको माङगेन्ना (शिर) ढल्छ । उनी रुन्छिन्, कराउँछिन् र अन्त्यमा घर छाडेर जान्छिन् ।
भोलिपल्ट सिमिक्वाका निम्ति आमाले गिठ्ठा भ्याकुर खोजेर ल्याइदिन्छिन् तर छोरी घरमा हुँदिनन्। यही वेला च्याउ हराएको नभई घामले सुकेर थोरै भएको उनले थाहा पाउँछिन् । सिमिक्वा निर्दोष भएको थाहा पाएपछि पश्चातापले जल्छिन् । छोरी खोज्दै जंगल, भीर, पाखा र खोला किनार चहार्छिन् । यसै क्रममा खोलाले बगाएर आमाको निधन हुन्छ ।
मृत्युपछि उनको आत्मा सिमिक्वा चरीको रूप लिएर छोरीलाई खोज्दै हिँड्छ । आज पनि सिमिक्वा चरी कराएमा अपशकुन हुने किरात लिम्बू समुदायमा विश्वास छ। नाटकमा ढुङ्गे युगको सेटिङमा आमाछोरीको प्रेम र वियोगको कथालाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरेका छन्‚ निर्देशकद्वय वनेमविक्रम फागो र चेतन आङथुपोले । तङसिङ र येबाको उपस्थिति गराएर पुराकथा र संस्कृतिको सम्बन्ध स्थापित गर्ने प्रयास गरेका छन् । नाटक लिम्बू भाषामा छ ।
नाटकमा नयाँ कलाकार मीना नेम्बाङ र पासाङ ल्हामु शेर्पाको अभिनय तारिफ योग्य छ। यसका साथै वनेमविक्रम फागो, मनकुमार योङहाङ, शिखर लाम्गादे र सविरन लाम्गादेको सशक्त अभिनयले नाटकलाई जीवन्त बनाएको छ। लिम्बू समुदायमा प्रचलित हाम्लक्वा (कसैको मृत्यु हुँदा शोक व्यक्त गर्दै लय तानेर रुने) लाई पृष्ठभूमि संगीतका रूपमा प्रस्तुत गरिएको छ। जसले नाटकको दुःखान्तक परिवेशलाई जीवन्त बनाइराखेको छ।
नाटकको कथा संकलन शिवकुमार श्रेष्ठ र नाट्य रूपान्तरण सुमन लिङ्देनले गरेका हुन्। सिमिक्वाको भाषा अनुवाद डिल्ली मुसाहाङ अम्याङसाको र वेषभूषा राजकुमार आङदेम्बेको रहेको छ ।
नाटक सिमिक्वाको आज अन्तिम प्रदर्शन हुने प्रस्तोता चुलाचुली रङ्गमञ्चले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...