
उर्लाबारी, ४ साउन । विभिन्न ३२ वटा राजनीतिक दल तथा संघ संस्थाहरु संगठित भएको लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको बैठक उर्लाबारीमा बसेको छ । प्रदेश नं. १ को नामाकरणको सवालमा यतिबेला प्रदेश नं. १ मा चरणबद्ध आन्दोलनहरु घोषणा भएको छ । भर्खरै मात्र किरात राई यायोक्खाको अगुवाईमा प्रदेश नामाकरण पहिचानको आधारमा राख्न प्रदेश सरकारलाई दवाव दिदैं मुख्यमन्त्री कार्यालय घेराउ कार्यक्रम गरेको छ ।
यसैगरी करिब १ बर्ष अघि गठन भएको लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश नं. १ को नाम पहिचानको आधारमा लिम्बुवान, किरात प्रदेश घोषणा गराउन दवावमूलक कार्यक्रम भोलि (साउन ५ गते) बिहीबार प्रदेशको राजधानी विराटनगरमा जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । सोही कार्यक्रमको तयारी बारे बैठक बसेको कियाचू प्रदेश अध्यक्ष मधुराज केरुङले बताए ।
झापा, मोरङ र सुनसरीबाट डेढसय भन्दा धेरै बस र इलाम, पान्थर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम लगायत जिल्लाहरुबाट समेत थप जनमास कार्यक्रममा सहभागी हुने अन्तिम तयारी भएको अध्यक्ष केरुङले बताए । कार्यक्रम ट्राफिक चोक हुँदै मुख्यमन्त्री कार्यालय त्यसपछि प्रदेशसभा भवनसम्म पुगेर कोणसभा गर्ने जनाइएको छ । विहान ११ बजे नै रोडशेषमा सबै बसहरुलाई राखेर ¥याली सहित कार्यक्रम गर्ने संघर्ष समितिले जनाएको छ ।