फोनिजद्वारा चार पत्रकार पुरस्कृत र संचार संस्था सम्मानित हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं , २४ साउन । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार पत्रकारले पाउने भएका छन् ।

फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको पुरस्कार छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ हाइलाइट्स टुरिजमका क्रीएटीभ सम्पादक अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरका अप्सरा समाललाई प्रदान गरिने छ ।

त्यस्तै यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरिने भएको छ । बुङ्वाखाले बान्तावा भाषा, साहित्य र मातृभाषा पत्रकारिताको विकासमा टेवा पुर्याउँदै आएको छ ।

पुरस्कार र सम्मान फोनिजको २३औँ स्थापना दिवसका अवसरमा साउन २७ गते काठमाडौँमा आयोजना गरिने मूल समारोहमा प्रदान गरिने छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति पत्रकारिता पुरस्कार-२०७९’ र ‘फोनिज मातृभाषा सम्मान-२०७९’ प्राप्त गर्नुहुने व्यक्ति तथा संस्थाको पेशागत तथा संस्थागत विवरण

१. गोपाल देवाल, सुनसरी
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)
सुनसरी कर्मथलो बनाएर २०४२ सालबाट साहित्यिक पत्रिका ‘काँचुली’बाट पत्रकारिता सुरु गर्नुभएका गोपाल देवानले पत्रकारितामा तीन दशक बढी समय व्यतित गरिसक्नुभएको छ । हाल उहाँ ‘विश्वस्त सूत्र साप्ताहिक’को सम्पादक तथा प्रकाशक हुनुहुन्छ । दृष्टि साप्ताहिकलगायत दर्जनभन्दा धेरै सञ्चारमाध्यममा काम गरेको अनुभव देवानसँग छ । उहाँले धरानको ब्लाष्ट टाइम्स दैनिकका संस्थापक सम्पादक भएर समेत काम गरिसक्नुभएको छ । साहित्यमा ‘अविराम क्रान्ति’ नामले परिचित उहाँ ‘आरम्भ नाट्य डबली’को अध्यक्षसमेत हुनुहुन्छ ।

२. अनिता गुरुङ, काठमाडौँ
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)
हाइलाइट्स टुरिजम डटकमको कार्यकारी सम्पादक अनिता गुरुङले २०५६ सालमा ‘रेडियो सगरमाथा’बाट पत्रकारिता सुरु गर्नुभएको हो । सगरमाथा टेलिभिजनमा करिब १० वर्ष नेतृत्वदायी भूमिकामा काम गर्नुभएका उहाँ लामो समयदेखि गोरखापत्र दैनिकको गुरुङ भाषा पृष्ठ संयोजकका रूपमा कार्यरत हुनुहुन्छ । फोनिजका निवर्तमान सल्लाहकार गुरुङले रेडियो नेपालमा मिडियाविज्ञ भएर काम गर्नुभएको छ । पत्रकारिता क्षेत्रमा बहुआयामिक छवि बनाउनुभएका अनिता गुरुङले सञ्चारजन्य विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ ।

३. राजु चौधरी, चितवन
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)
चितवनलाई आधार बनाएर पत्रकारितामा क्रियाशील राजु चौधरीले २०६७ सालमा कायाकैरन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको हो । २०७२ सालसम्म कायाकैरनमा काम गर्नुभयो । अभियान टेलिभिजन, रेडियो अर्पण, नमस्ते टेलिभिजन र रेडियो ध्रुवतारामा समेत उहाँले काम गरिसक्नुभएको छ । २०७० देखि २०७५ सालसम्म चितवनबाट इमेज टेलिभिजनमा आवद्ध भएर काम गर्नुभयो । हाल कान्तिपुर टेलिभिजनको चितवन संवाददाताका रूपमा काम गरिरहनुभएको छ । उहाँ फोनिजको निवर्तमान संघीय सदस्यसमेत हुनुहुन्छ ।

४. अप्सरा समाल, उदयपुर
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)
अप्सरा समाल उदयपुरमा रहेर लामो समयदेखि रेडियो पत्रकारित गरिरहनुभएको छ । समालसँग सामुदायिक रेडियो उदयपुरमा पाँच वर्ष कार्यक्रम संयोजक तथा समाचार प्रमुखका रुपमा काम गरेको अनुभव छ । उहाँले सोही रेडियोमा चार वर्ष स्टेशन मेनेजर भएर कुशलतापूर्वक नेतृत्व गर्नुभएको छ । फोनिज उदयपुरको अध्यक्ष हुँदै हाल प्रदेश १ को उपाध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न पत्रकारजन्य संस्थामा समेत आबद्ध हुनुहुन्छ ।

५. बुङ्वाखा मासिक
(फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७९)
बुङ्वाखा बान्तावा राई भाषामा प्रकाशन भइरहेको मासिक पत्रिका हो । २०६१ मङ्सिर २४ गते स्थापना भई पुसदेखि निरन्तर प्रकाशनकामा रहेको बुङ्वाखाको हालसम्म २०८ पूर्णाङ्क प्रकाशित भइसकेको छ । बुङ्वाखामार्फत बान्तावा भाषा, साहित्य र मातृभाषा पत्रकारिताको विकासमा टेवा पुगेको छ । मातृभाषा पत्रकारितामा उल्लेख्य योगदान गरेवापत ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार–२०७० प्राप्त गरिसकेको बुङ्वाखा प्रेस काउन्सिल नेपालको वर्गीकरणमा १० वर्षदेखि नियमितरूपमा ‘क’ वर्गमा रहँदै आएको छ । (दृष्टि अनलाइनबाट साभार)

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;