‘‘जनताबाट अनुमाेदित हुनेमा ढुक्क छु’’ – सागर केरूङ्

 लिम्बुवान न्युज
                       

पाँचथर । सम्भवतः एक राजनीतिकर्मीभन्दा पनि कलाकर्मी र साहित्यकर्मीको रुपमा बढि चिनिएका व्यक्ति हुन्– सागर केरुङ ।
उनले दर्जनौं चलचित्रमा काम गरेका छन् । सागर निर्देशित लिम्बू कथानक चलचित्र ‘केः’ ले त ४ वटा राष्ट्रिय–अन्तराष्ट्रिय अवार्ड नै जित्यो । ‘केः’ प्रदर्शनको सिलसिलामा स्वदेश मात्र होइन विदेश समेत पुगे उनी । उनका अन्य चलचित्रहरुले पनि विभिन्न अवार्ड जितेका छन् । नेपाली–लिम्बू गरी ८ वटा त नाटकको किताबै प्रकाशित छन् उनका । एउटा लिम्बू वर्ण र छन्द सम्बन्धी ‘सक्सा नु पेन्युक’ नामक पुस्तक पनि लेखेका छन् । तसर्थ चलचित्र, साहित्य र संस्कृतिको क्षेत्रमा उनको बेगल चिनारी र पहिचान छ ।

उनै सागर खेल्ने अर्को मैदान पनि छ । त्यो हो– राजनीति । उनले खेल्ने राजनीति पहिचानको राजनीति हो । उनले राजनीति खेल्न थालेको १५ वर्षभन्दा बढी भइसक्यो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र सम्बद्ध संघीय लिम्बुवान प्रान्तीय मञ्चको विभिन्न जिम्मेवारीमा रहँदै अहिले त्यहिं पार्टीको संघीय सह–सचिव र कलाकार विभागमा रहेका छन् भने लिम्बुवान सचिवालय सदस्य समेत हुन् । पान्थरको युवाहरु माझ लोकप्रिय उनै सागर यसपल्ट जनतामाँझ अनुमोदित हुन हाजिर भएका छन् ।

आगामी ४ मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् उनी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट ‘दाब सहितको खुकुरी’ चुनाब चिन्हकासाथ चुनाबी मैदानमा उत्रिएका हुन् उनी । यतिबेला उनी आफ्नो निर्वाचन क्षेत्रमा भोट माग्न व्यस्त छन् ।

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ बाट प्रदेशसभा सदस्यका लागि सागर सहित १० जना उम्मेदवार चुनाबी मैदानमा छन् । सत्तारुढ गठबन्धन (नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र–नेकपा एकिकृत समाजवादी) को तर्फबाट नेकपा (एकिकृत समाजवादी) का कमल जबेगु, नेकपा एमालेबाट राजकुमार भण्डारी, जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट मचिन्द्र प्रसाद बेघा लगायत उम्मेदवार छन् ।

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ मा गठबन्धन र नेकपा एमालेमध्ये एउटाले जित्ने आँकलन भइरहँदा सागर यसपल्ट जनताले आफूलाई अनुमोदन गर्ने दाबि गर्छन् । भिजन बिनाका उम्मेदवारले जितेर जाँदा जनताका अपेक्षा पूरा नभएकाले मतदाता समक्ष आफूले स्पष्ट कार्ययोजना प्रस्तुत गरेको र मतदाताले आफूलाई रोज्ने सागर बताउछन् । आफूले बिकास निर्माणसँगै सामाजिक, साँस्कृतिक, आर्थिक, जनजीविका लगायतका समग्र बिषयको बिकास र उन्नतीलाई समान प्राथमिकतामा राखेको उनले बताए ।

सडक र भवनको कुरा मात्र लिएर जाने उम्मेदवारलाई अब जनताले दण्डित गर्ने सागर बताउछन् । सडक र भवनले मात्र समग्र बिकासको प्रतिनिधित्व नगर्ने भएकाले अब समग्र क्षेत्र र बिषयलाई मसिनो ढङ्गले बुझ्ने र तीनको समुन्नतीका लागि काम गर्न सक्ने उम्मेदवार जनताले खोजेकाले त्यसका लागि आफू सक्षम रहेको सागरको दाबि छ ।

जनतालाई वास्तविक संघीयताको प्रत्याभूती दिलाउन र पहिचानको मुद्धालाई स्थापित गराउन पनि आफूले जित्न आवस्यक रहेको उनको तर्क छ । अहिलेको संघीय संरचनाले यहाँको भूगोल, इतिहास, सभ्यता र जनताको भावनालाई सम्मान गर्न नसकेको उनको भनाई छ । पहिचानको बिषयलाई साम्प्रदायीक रङ्ग दिई प्रतिक्रियावादीहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेको उनको बुझाई छ । उनलाई लाग्छ– यो भ्रमलाई चिर्न आवस्यक छ ।

यहिं कारण गएको ५ वर्षमा प्रदेश–१ ले नाम पाउन नसकेको सागर बताउछन् । ‘ऐतिहासिक पृष्ठभूमी र शासकीय भूगोलको आधारमै १ नं.प्रदेशको नामकरण गरिनुपर्छ, त्यसैले १ नं.प्रदेशको नाम लिम्बुवान किरात अथवा किरात लिम्बुवान नै हुनुपर्छ’ उनले भने ‘यसो गरियो भने इतिहास र सभ्यताको सम्मान हुन्छ, लामो समयदेखि उठिरहेको आन्दोलनको पनि सम्बोधन हुन्छ र हाम्रो प्रदेशमा दीगो शान्ति स्थापना भई समृद्धितर्फ लम्किन सकिन्छ ।’

अहिले आफ्नो निर्वाचन क्षेत्रबाट चुनावी प्रतिश्पर्धामा रहेका कुनै पनि उम्मेदवारले प्रदेशको नामाकरणको बिषयमा प्रष्ट कुरा राख्न नसकेको सागर बताउछन् । त्यसैले अब यस्ता अस्पष्ट कुरा गरेर जनता ढाँट्नेलाई मतदाताले दण्डित गर्नेमा सागर ढुक्क छन् । आफू प्रदेशको नाम, दीगो बिकास, संघीयता र पहिचानको मुद्धामा स्पष्ट रहेको र जनचाहना पनि त्यहिं भएकाले यसपल्ट चुनाब जित्ने उनले बताए ।

पाँचथरको याङ्नाम गाउँमा तीन दशक अघि जन्मेर डेढ दशकदेखि पहिचानको राजनीतिसँगै भाषा, लिपी, कला, साहित्य र संस्कृतिको क्षेत्रमा निरन्तर क्रियाशील सागरले चुनाब जित्छन् कि हार्छन् ? त्यो भने मंसिर ४ पछि नै थाहा हुनेछ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;