
काठमाडौं, १ मंसिर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातिदेखि स्थिर समय सुरु हुँदैछ ।
निर्वाचन आयोगले आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने जनाएको छ । यसअघि निर्वाचनको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको हो ।
यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ । यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न नपाइने भएको हुँदा सबै उम्मेदवारलाई यस विषयमा आयोगले जानकारी गराइसकेको जनाएको छ ।
यसैबीच, निर्वाचनका लागि सुरक्षा रणनीति पनि तयार भइसकेको आयोगले जनाएको छ । जसअनुसार अतिसंवेदनशील मतदानस्थलमा हवाई गस्तीको पनि व्यवस्था गरिएको आयोगले भनेको छ ।