समानुपातिक पद्दति तर्फको मतगणना सम्पन्नः कुन दलले कति सिट पाउने ?

 लिम्बुवान न्युज
                       


काठमाडौं, २० मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिक पद्धतितर्फको मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगले सबै जिल्लामा मत गणना सकिएको जनाएको हो ।
आयोगका अनुसार अहिले आयोगको केन्द्रीय कार्यालयमा मत रुजु गर्ने काम भइरहेको छ । तर यो पद्धतिबाट निर्वाचित हुने ११० सिटमध्ये दलहरुले पाउने सिट संख्या भने करिब टुंगो लागिसकेको छ ।
आयोगको अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । यो पद्दतिमा नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ । यसअनुसार एमालेले ३४ सिट पाउने देखिन्छ । प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ ।
नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाउँदा उसले समानुपातिकमा ३२ सिट पाउने छ । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । उसले ११ लाख ७५ हजार ६८४ मत पाएको छ र, १४ सिट पाउनेछ । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ । दुबै जोड्दा उसको ३२ सिट पुग्छ ।
२०७४ को चुनावमा एमालेले ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२४८५ प्रतिशत मत पाएको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ अर्थात सदर मतको ३२.७७५९ प्रतिशत मत पाएको थियो । यो पटक दुबै दलले करिव ६ प्रतिशत विन्दुले मत गुमाएका छन् ।
माओवादीले अघिल्लो पटक १३ लाख ३ हजार ७२१ मत अर्थात १३.६५९० प्रतिशत मत पाएको थियो । उसले पनि करिव २ प्रतिशत विन्दुले समानुपातिक मत गुमाएको छ । यो पटक प्रमुख तीन दलले समानुपातिकतर्फ मत गुमाएका छन् ।
ठूला दलहरुको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपातिर गएको देखिन्छ । यो चुनावमा उदाएको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दा समानुपातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । यसअनुसार उसले १३ सिट पाउने छ ।
त्यसैगरी अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसदको पाँचौ दल हुनेछ ।
तराई मधेश केन्द्रित दलमध्ये जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा) को भोट सीके राउत नेतृत्वको जनमत पार्टीले काटेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपाले ४ लाख २१ हजार ३१३ मत पाएर थ्रेसहोल्ड कटाएको छ र ५ सिट पाउनेछ । जबकी अघिल्लो चुनावमै उसले ४ लाख ७० हजार २०१ अर्थात ४.९२६३ प्रतिशत मत पाएको थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने थ्रेस होल्ड नै कटाउन सकेन । जबकी महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीले अघिल्लो पटक ४ लाख ७२ हजार २५४ अर्थात ४.९४७८ प्रतिशत भोट पाएको थियो ।
पहिलो पटक संसदीय चुनाव लडेर सप्तरी २ मा उपेन्द्र यादवलाई हराएका सीके राउत नेतृत्वको पार्टी जनमत पार्टीले भने जसपाकै सरह ५ सिट पाउने भएको छ । उसले समानुपातिकतर्फ ३ लाख ९४ हजार ६५५ मत पाएको छ । ७ दलले समानुपातिकको थ्रेस होल्ड (कुल सदर मतको ३ प्रतिशत) कटाएका छन्, प्रत्यक्षतर्फ पनि चुनाव जितेका ती पार्टीहरुले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।
प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा र ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी यि तीन वटा पार्टीहरु राष्ट्रिय पार्टी बन्न चुकेका छन् । त्यसैगरी एक–एक सिट जितेको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले त्यसैमा चित्त बुझाउनु पर्ने भएको छ ।

 

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;