आयोगले गरयो प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक तर्फ दलहरुले पाएको सिट निर्धारण

 लिम्बुवान न्युज
                       


काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट निर्धारण गरेको छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एमालेले सबभन्दा धेरै ३४ सिट पाएको छ । कांग्रेसले ३२, माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७, जनता समाजवादी पार्टी र जनमत पार्टीले समान ५/५ सिट पाएका छन् ।
प्रतिनिधिसभामा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा लगायतका दलले ३ प्रतिशतको थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएका छन् ।
प्रदेशसभातर्फ कांग्रेस, एमाले र माओवादीसँगै राप्रपाले सात वटै प्रदेशमा सिट पाएको छ । एकीकृत समाजवादीले भने गण्डकीमा डेढ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन । अरु ६ प्रदेशमा भने उसले थ्रेसहोल्ड कटाएर सिट पाएको छ ।
प्रदेश १ मा सबभन्दा धेरै १५ सिट एमालेले पाएको छ । कांग्रेसले १२, राप्रपा र माओवादीले ४/४ तथा जसपा र एकीकृत समाजवादीले १/१ सिट पाएका छन् । यो प्रदेशमा अघिल्लो पटक एक सिट पाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले यो पटक भने थ्रेस होल्ड कटाउन सकेन ।
मधेस प्रदेशमा १० दलले समानुपातिकबाट सिट पाएका छन् । सबभन्दा धेरै ९ सिट कांग्रेसले पाएको छ । एमालेले ८, जनमत र जसपाले समान ७/७, माओवादीले ४, एकीकृत समाजवादीले ३, लोसपाले २ सिट पाउँदा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समान १/१ सिट पाएका छन् ।
प्रदेशसभामा नेपाल संघीय समाजवादी पार्टीले अघिल्लो पटक पनि एक सिट पाएको हो भने जनमत र नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक प्रदेशसभामा आएका हुन् ।
बागमती प्रदेशमा एमालेले सबभन्दा धेरै १४ सिट पाएको छ । कांग्रेसले १२, माओवादीले ७, राप्रपाले ६ सिट पाउँदा एकीकृत समाजवादी र नेमकिपाले २/२ र हाम्रो नेपाली पार्टीले १ सिट पाएको छ । राप्रपाले अघिल्लो पटक एक सिट पाएको थियो भने हाम्रो नेपाली पार्टी नव प्रवेशी हो ।
गण्डकी प्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादी केन्द्रले ३ र राप्रपाले २ सिट पाएको छ । अघिल्लो पटक समानुपातिक सिट पाएको जसपा (तत्कालीन नयाँ शक्ति) र राष्ट्रिय जनमोर्चाले यो पटक डेढ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन ।
लुम्बिनी प्रदेशमा १० दलले समानुपातिकतर्फ सिट पाएका छन् । एमालेले सबभन्दा धेरै ११ सिट पाएको छ भने कांग्रेसले १० सिट पाएको छ । माओवादीले ४, राप्रपा, नागरिक उन्मुक्ति र जनमत पार्टीले २/२ सिट पाउँदा जसपा, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले १/१ सिट पाएका छन् ।
कर्णाली प्रदेशमा एमाले र कांग्रेसले समान ५–५ सिट पाउँदा माओवादीले ४, एकीकृत समाजवादी र राप्रपाले १/१ सिट पाएको छ । सुदूरपश्चिम प्रदेशमा पनि एमाले र कांग्रेसले समान ७/७ सिट पाएका छन् । माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २ सिट पाउँदा राप्रपा र एकीकृत समाजवादीले १/१ सिट पाएका छन् ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...