
काठमाडौं, २ माघ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ । आइतबार आकस्मिक बसेको मन्त्रीपरिषदको बैठकले विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत गरेको छ ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९–एन–एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चालक दलसहित ७२ जना थिए ।
घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ । दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।
आइतबार साँझसम्ममा ६८ जनाको शव भेटियो ४ जनाको अवस्था अझै थाहा हुनसकेको छैन । सनाखत भएका शव आज परिवारलाई जिम्मा लगाइने साथै सनाखत नभएकाको परीक्षण गर्न काठमाडौं पठाइने सुरक्षा अधिकारीहरुले बताएका छन् ।