दमक, ३१ साउन । जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या बढेको देखिएकोछ । आर्थिक वर्ष ०८०/०८१ को तथ्याङक अनुसार २५ हजार चार सय ५५ जनाले राहदानी लिएका छन् भने १८ हजार आठ सय २२ जनाले मात्र नागरिकता लिएका छन् ।
गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार सात सय रुपैयाँ राज्यकोषमा दाखिला भएको छ । राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार चार सय ४४ रुपैयाँ सङ्कलन गरेको छ ।
यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च तीन करोड ८६ लाख १६ हजार चार सय ५७ रुपैयाँ भएको कार्यालयले जनाएको छ । झापाको यो तथ्याङलाई हेर्ने हो भने वैदेशिक रोजगार र विदेशमा पढ्न जाने विद्यार्थीसँग बढेको देखिन्छ ।