सर्टफिल्म  ‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलमा जित्यो उत्कृष्ट अवार्ड

,   लिम्बुवान न्युज
                       

ललितपुर, २ असाेज । नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा विजेता बनेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ चलचित्रहरुमध्येबाट ‘द स्कुल वाल’ ले पहिलो स्थान हासिल गरेको छ ।

रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म सो चलचित्र महोत्सवको आयोजना गरिएको थियो । फाईनल चरणमा अमेरिका, इन्डोनेसिया, भारत, ब्राजिल पनि सहभागी रहेको थियो । नेपालको तर्फबाट ‘द स्कूल वाल’ पहिलो स्थानसँगै भारत दोस्रो र अमेरिकाले तेस्रो स्थान प्राप्त गरेको थियो ।

बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘द स्कुल वाल’ यसअघि नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्स र फस्ट टाईम फिल्म मेकर सेसन्समा छनोट भएको थियो । ‘द स्कुल वाल’ काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभलमा छनोट भएर राष्ट्रिय सभा गृहमा प्रदर्शनसमेत भएको थियो ।

लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका हुन् ।

‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएकोे छ । काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जन र सहायक निर्देशन करन साउदको रहेको छ ।

ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र ‘द स्कुल वाल’ को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । उनले यसअघि निर्माण गरेका लघु चलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’ विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विभिन्न देशहरुमा प्रदर्शनसमेत भईसकेको छ । उनी अहिले नयाँ सर्टफिल्म ‘दृश्य’को तयारी गरिरहेको बताउँछन् । एक सटमा खिचिएको ’घुर्रा’ले उत्कृष्ट लघुचलचित्रको अवार्ड समेत प्राप्त गरेको थियो ।

रसियाको फेस्टिभल आयोजक टीमबाट कार्यक्रममा सहभागी हुनको लागि निमन्त्रणा आएसँगै रसियन एम्बेसीले भिसा पनि दिएको तर रसिया युक्रेन युद्धको कारण नेपाल सरकारले नै नेपालीहरुलाई रसिया प्रवेशको लागि रोक लगाएकोले कार्यक्रममा सहभागी हुन नपाएको निर्माता सुरेन्द्र क्षेत्री बताउँछन् । परराष्ट्र मन्त्रालय पनि गएको तर परराष्ट्रले पहिलोपटक रसिया जानेलाई एन ओ सी उपलब्ध नगराउने भन्दै नदिएको उनी बताउँछन् । सरकारले सहयोग नगरे पनि देशको प्रतिनिधित्व गर्न पाएकोमा गर्व लागेको उनी बताउँछन् ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;