ललितपुर, १९ असाेज । नेपाल पत्रकार महासंघका प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला भक्तपुर जिल्लाकाे मध्यपुरथिमिको बोडेमा शरू भएकाे छ । महासङकाे केन्द्रीय समितिले आयोजना गरेकाे उक्त कार्यक्रमलाइ महासंघ भक्तपुर शाखाको व्यवस्थापनमा आज बिहानदेखि भेला सुरु भएको हो ।
महासंघकाे सदस्यता विवादका कारण पटकपटक तोकिएको निर्वाचन मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूसहितको भेलाले समस्या समाधानका उपाय खोज्नेबारे छलफल सुरु भएको महासचिव रोशन पुरीले जानकारी दिएका छन् ।
सदस्यतासम्बन्धी विवाद समाधानका लागि महासंघका ५३ जिल्लाका अध्यक्षहरूले राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई केही समय अघि महासंघकाे कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।
कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा विभिन्न जिल्लाबाट सहभागी प्रदेश तथा जिल्ला अध्यक्षहरूको सहभागिता रहेको छभने विपद्का कारण भेला हुन नसकेका अध्यक्षहरूसँग ‘भर्चुअल’ माध्यमबाट छलफल एवं परामर्श गरिएको महासंघले जनाएकाे छ ।
राष्ट्रिय भेलामा पूर्वकेन्द्रीय अध्यक्षहरू डा. सुरेश आचार्य, डा महेन्द्र बिष्ट, तारानाथ दाहाललगायत पूर्व अध्यक्षहरू र विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ । भेलामा निर्वाचन मिति, सदस्यता विवाद सुल्झाउनेबारे फरक फरक प्रस्तावहरूमाथि छलफल भइरहेको महासचिव पुरीले जानकारी दिएका छन् ।
जिल्ला अध्यक्षहरूका तर्फबाट पत्रकार महासंघ भक्तपुर अध्यक्ष जगतकृष्ण प्रजापतिले जिल्ला शाखाले सर्वसम्मत पारित गरेर प्रदेशले अनुमोदन गरेको नामावलीलाई मान्यता दिनुपर्ने, विधान विपरीत स्थानान्तरण गरिएका सदस्यता स्वतः रद्द हुनुपर्ने, अागामी पुस २० गते निर्वाचन गर्नुपर्ने प्रस्ताव भेलामा राखेकाे बताइएकाे छ ।