
ललितपुर, ३० मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा जातीय आपसी सद्भाव, सहिष्णुता र सांस्कृतिक भ्रातृत्वको भावना अभिप्रेरित भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
चासोक तङ्नाम अथवा उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
राष्ट्रपति पौडेलले किरात जातीहरु राई, लिम्बू, सुनुवार र याक्खाहरूले यो पर्वलाई परम्परागत भेषभूषाहरु लगाई आफ्नो पितृ अथवा तागेरा निङवाभूमाङ (कुलदेवता)लाई बर्षभरी उब्जाईको अन्नबालीहरुलाई चढाउने र बर्षभरी खाना पाइयोस् पुगोस्, अनिकाल नलागोस भनी पुजा गर्ने गरेको उल्लेख गरेका छन् । यस्तै यो पर्वमा आ–आफ्नो मौलिकता अनुसार केलाङ, चण्डी (सोकेला), डोकेनी नाच लगायतका परम्परागत नृत्यहरु गरि विविध कार्यक्रम गरी बनाउने परम्प्रा रहेको राष्ट्रपति पौडेलको सन्देशमा भनिएको छ ।
किरातीहरुको नयाँ बर्ष येले तङबे ५०८४ पनि आजैबाट शुरु भएको छ । किरातीहरु पर्वलाई जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने यो पर्वमा भित्र्याइएको नयाँ अन्नबालीको सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गर्दछन् ।
प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको राष्ट्रपति पौडेलको भनाइ छ ।
विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा किरात जातीहरुमा राई समुदायले उधौली पर्व, लिम्बु समुदायले चासोक तङनाम, याक्खा समुदायले चसुवा र सुनुवार जातीले फ्स्यादर भने यो पर्वलाई भन्ने गर्दछन् ।
आज देशभरी छरिएर रहेका र विदेशमा रहेका किरात समुदायहरुले आफ्नो पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाइरहेका छन् । नेपालका पूर्वी भुभागमा रहेका र काठमाडौं उपत्यका लगायत अमेरिका, अष्टे«लिया, बेलायत, हङकङ, जापान, कोरिया, मलेसिया लगायत खाडी मुलुकमा रहेका किरातीहरुले आफ्नो राष्ट्रिय पर्वलाई धुमधामका साथ मनाईरहेका छन् ।
किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज लगायतका जातीय संस्थाहरुले संघमा, प्रदेशमा, जिल्ला र गाउँपालिकाहरुमा रहेका आ–आफ्ना संस्थाहरुमा मार्फत कार्यक्रमहरु भईरहेको चुम्लुङ संघीय महासचिव निरन्ती तुम्बापोले वताइन् ।