
ललितपुर, १५ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण बौद्धधर्मावलम्बीहरुमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।”
नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायको भूमिका प्रशंसनीय रहेको राष्ट्रपतिको कथन रहेको छ ।
राष्ट्रपति पौडेलले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदै
आज गुरुङ समुदायले ल्होछार मनाउँदै आजबाट ल्हो फेरिएको मानिन्छ । साथै यसको अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।
गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसैगरी काठमाडौं उपत्यका, प्रदेश नं. १ को गुरुङ समुदायहरुले पनि यो पर्व भव्य रुपले मनाउने गरिन्छ ।