चिया क्षेत्रका समस्या समाधान गर्न संसादलाई ध्यानाकर्षण

 लिम्बुवान न्युज
                       


दमक, २३ पौष । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्याहरु समाधानमा सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् । चिया सरोकारवाला सम्मिलित प्रादेशिक चिया समन्वय समितिले सोमबार ध्यानाकर्षणपत्र बुझाएपछि सांसद शर्माले सो प्रतिवद्धता जनाएका हुन् ।
झापा १ बाट निर्वाचित सांसद शर्मालाई धुलाबारीमा चिया सरोकारवालाहरुको टोलीले चिया क्षेत्रको समस्या सम्बोधनमा पहल तथा समन्वय गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका थिए ।
चिया सरोकारवालाले सांसद शर्मालाई चिया क्षेत्रका लागि अहिलेसम्म ऐन निर्माण नभएको, ऐन–कानुनको अभावमा प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च गर्न कठिनाई भएको तथा नेपाल सरकारले चिया क्षेत्रको विकास, प्रवद्र्धन तथा संरक्षणार्थ आवश्यक ध्यान नदिएको बताएका छन् । चिया निर्यातमा देखिएका समस्या बारे पनि अवगत गराइएको थियो ।
प्रादेशिक चिया समन्वय समितिका सदस्य तथा नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले मुलुक संघीयतामा गएपनि चिया क्षेत्रमा संघीयता कार्यान्वयन नभएको बताए । उनले ९८ प्रतिशत चिया क्षेत्र कोशी प्रदेशमा भएपनि प्रदेश सरकारले चिया क्षेत्रका लागि अहिलेसम्म कुनै निकाय र कानुन नबानाउनु विडम्बना भएको टिप्पणी गरे ।
नेपालमा चिया रोपण भएको १ सय ६१ वर्ष पुग्दा समेत चिया ऐन निर्माण नभएको सांसद शर्मालाई अवगत गराइएको थियो । ५ अर्ब विदेशी मुद्रासहित वार्षिक करिब १३ अर्ब बढीको आर्थिक कारोबार हुने चिया क्षेत्र ऐन कानुनको अभावमा व्यवस्थित गर्न नसकिएको सरोकारवालाको भनाई छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले ऐन कानुनको अभावमा चिया क्षेत्रले गैरकृषि अवरोधहरु भोग्नु परिरहेको बताए । चिया कोशी प्रदेशको प्रमुख आर्थिक क्षेत्र भएपनि तीनै तहको बेवास्तामा परेको दुखेसो गरे । उनले संघ र प्रदेश सरकारको सहकार्य र समन्वय हुन नसक्दा चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले चिया क्षेत्रका लागि विनियोजन गरेको २ करोड ६५ लाख रुपैयाँ खर्च गर्न कठिनाई भइरहेको जानकारी गराए । उनले प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन गर्ने अवस्था सिर्जना गरिदिन समेत आग्रह गरे ।
त्यसअवसरमा सरोकारवालाहरुले भने–उद्योगी, किसान, श्रमिक, व्यापारी सबै मिलेर हामी दुई वर्षदेखि सबै तहका सरकारहरुलाई चिया क्षेत्रको लागि ऐन कानुन बनाउन र विकासका लागि आग्रह गरिरहेका छौं । तर, अहिलेसम्म आश्वासन बाहेक ठोस काम हुन सकेको छैन् ।
सरोकारवालाले चिया खेतीमा सिंचाइका लागि लगाइएको चर्को विद्युत महसुल र डिमाण्ड चार्ज खारेज गरी कृषि सिंचाइको सुविधास्वरुप सहुलियत महसुलको व्यवस्था गर्नु पर्नेमा पनि जोड दिए ।
चिया सरोकारवालाहरुको कुरा सुनिसकेपछि सांसद शर्माले कार्यक्रमकै वीचमा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई फोन गरी चिया क्षेत्रका समस्या सम्वोधन गर्न आग्रह गरे । उनले दुवै मन्त्रीलाई झापा भ्रमणमा आई सरोकारवालासंग छलफल गरी समस्या समाधानमा अघि बढ्न पनि आग्रह गरे ।
सांसद शर्माले चिया क्षेत्रका समस्यालाई आफूले नजिकबाट बुझेको हुँदा श्रमिक, किसान, उद्योगी तथा व्यवसायीका साझा समस्यालाई समाधान गर्न पहल गर्ने बताए । चिया क्षेत्रका सबैखाले समस्याको दीगो समाधानका लागि ऐन बनाउन पहल गर्ने, प्रदेश सरकारसंग समन्वय गर्ने समेत सांसद शर्माले बताए ।
चिया श्रमिक, किसान, उद्योगी तथा व्यवसायीका साझा समस्यालाई पहिचान गरी चार पृष्ठ लामो ध्यानाकर्षण पत्र सांसद शर्मालाई बुझाइएको हो ।
चिया उत्पादक कृष्णप्रसाद प्रसाईसहितका सरोकारवालाहरुले विभिन्न समस्या अवगत गराएका थिए । कार्यक्रममा कांग्रेस नेतृ गोमा भट्टराई, नेताहरु राम कट्टेल, इन्द्र बुढाथोकी, चिया समन्वय समितिका सदस्य तथा श्रमिक नेता दीपक तामाङ, नेपाल चिया उत्पादक संघ तथा चिया सहकारी तथा किसानका प्रतिनिधि, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कर्मचारी, संवाद समूह सचिवालय तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;