
दमक, २ माघ । भक्का दिवसको अवसरमा दमक नगरपाकिलास्थित प्राङ्गणमा एक कार्यक्रम गरि परम्परागत भक्का खाँदै मनाइएको छ । बिशेष गरी पूर्वी तराईका राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समुदायको परम्परागत खानेकुराका रुपमा रहेको भक्काको प्रवद्र्धन गर्न स्थानीय सरकार तथा संस्थागतहरु समेत अग्रसर हुन थालेका छन् ।
चामलको सुख्खा पिठो बनाएर तातो पानी उमाल्दै सेतो कपडामा बटुकाको आकार दिएर पानीको वाफको सहायताबाट पकाएको खानेकुरानै भक्का हो ।
विगतमा आदिवासीहरुको सिमित रहेको भक्का यतिवेला आयआर्जनको रुपमा पनि लिने गरिन्छ । विशेष गरी आदिवासी महिलाहरु भक्का बेचेर नै आफ्नो बालबच्चा पढाउने देखिलिएर घरखर्च सम्म गर्न मद्दत पुगेको बताउने गरेको पाइन्छ । आजकल आफ्नो इच्छा अनुसार तातो चिया वा स्वादिलो टमाटरको अचार, नुन खुर्सानीको धुलोसँग खाजाका रुपमा खाने चलन रहेको छ ।
दमक नगरपालिकाले पहिलो पटक यसबर्ष राष्ट्रिय भक्का दिवसलाई बिशेष महत्वकासाथ मनाएको हो ।
दमक नगर भित्र दशकौं अघिदेखि भक्का बनाएर विक्री गर्दै जिविकोपार्जन गर्दै आएका ३ जना महिलालाई नगरले न्यानो कपडा पहिराएर सम्मान समेत गरेको छ ।

नगरपालिका परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ), प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीसहितले भक्का व्यवसायी महिलाहरु ललिता राजबङ्शी, शान्ती कहार र कम्पन खवासलाई सम्मान गरेका हुन् ।
उनीहरु तीस बर्ष अघिदेखि भाक्का बनाएर बेच्ने पेशामा रहेकाले पेशागत निरन्तरताको सम्मान गरिएको नगरपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिइन् ।
उनीहरुलाई सम्मानसगै ६७ जनालाईनै जनही एक÷एक थान हटकेस, सिल्बरको आरी र नाङ्गलो प्रदान गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी कर्मचारी जमुना पौडेलले जानकारी दिइन ।
नगरपालिकाले सार्वजनिक सूचना मार्फत आव्हान गर्दै नगर भित्रका विभिन्न ठाउँमा भक्का व्यवसाय गर्ने ६२ जना महिलालाई भक्का पकाउने सामग्रीसहित जम्मा गरेर स्टलनै सञ्चालन गरेको थियो ।
राजवंशी समाज विकास समिति दमकको समन्वयमा सञ्चालित सो कार्यक्रममा समितिका दमक नगर अध्यक्ष भरुवा राजवंशीले नगरपालिकाले पहिलो पटक यस किसिमको विशेष महत्व राखेर भक्का दिवस मनाएकोमा खुशी लागेको सुनाए । उनले सानो पुँजीको लगानीमा राम्रो आम्दानी गर्ने र महिलाहरुको आय आर्जनमा सघाउने भक्का व्यवसाय आफैंमा महत्वपूर्ण भएको अध्यक्ष राजवंशीले चर्चा गरे ।
दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको सभापतित्व र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कार्यपालिका सदस्य लोकबहादुर धिमालले स्वागत मन्तव्य राखेका थिए ।
वडाध्यक्षहरु हरिप्रसाद न्यौपाने, टेकबहादुर थापा, कुबेर भट्टराई , कार्यपालिका सदस्यहरु लोकबहादुर धिमाल, ख्यामकुमारी परियार, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारी लगायत जनप्रतिनिधि , कर्मचारी एवं सञ्चारकर्मीहरुसाथै सर्वसाधारणहरु सहभागी थिए ।
सो अवसरमा नगरपालिकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपाने र वातावरण अधिकृत भुवन बरालले भक्काको स्वस्थता र गुणस्तरका लागि अपनाउनु पर्ने सावधानी र वातावरण संरक्षणका लागि अपनाउनु पर्ने बिषयहरुमा सहजीकरण गरेका थिए ।