मुक्कुमलुङ संरक्षण पक्षधरले गरे आन्दोलनको घोषणा

 लिम्बुवान न्युज
                       


ललितपुर, २८ माघ । मुक्कुमलुङमा केवलकार निर्माणको विरोध गर्दै आएका मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले नयाँ चरणको आन्दोलन घोषणा गरेका छन् । वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन् ।
ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा उनीहरूले सोमबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि नयाँ आन्दोलन गर्ने जनाएका छन् । मुक्कुमलुङ (पाथीभरा)मा केबलकार निर्माण शुरू भएपछि उनीहरूले विरोध जनाएका थिए ।


त्यही क्रममा माघ १२ गते प्रहरीसँग झडप भएको थियो । झडपमा शसस्त्र प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् भने अन्य तीन जना पनि घाइते भएका छन् । तीन जनाको हाल काठमाडौंमा उपचार भइरहेको छ ।
त्यसको विरोधमा आन्दोलनरत पक्षले प्रदेश नं. १ को नौं जिल्लामा यातायात बन्द कार्यक्रम गरेको थियो अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित भएपछि संघीय सरकारले सहसचिव स्तरको कर्मचारी संयोजक रहेको वार्ता टोली गठन गरेको थियो ।
तीन पटक वार्ता गर्दा पनि सहमति नजुटेपछि उनीहरू फेरि आन्दोलनमा उत्रिने भएका हुन् । माघ २७ मा दुई पटक छलफलमा बस्दा पनि सरकारी पक्ष गम्भीर नदेखिएको उनीहरूको आरोप लगाएका छन् ।
उनीहरूले माघ २७ गते बेलुकासम्म उच्चस्तरीय वार्ता टोली गठन गर्न माग गरेका थि ए। सरकारले माग सम्बोधन नगरेकाले फेरि आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको मुक्कुमलुङ ताङ्सेप र अन्तरदलीय संघर्ष समितिका नेताहरुले बताएका छन् ।


उनीहरूले माघ २९ देखि फागुन ९ गतेसम्म बहिष्कार आन्दोलन गर्ने जनाएका छन् । केबलकार निर्माण गरिरहेको आईएमई समूहसँग कारोबार नगर्ने अभियान चलाउने पत्रकार सम्मेलनमा चेतावनी दिइएको छ । ग्लोबल आईएमई बैंक लगायतमा कारोबार बन्द गर्न, खाता बन्द गर्न अपिल गर्ने जनाएका छन् ।
त्यस्तै, फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ सञ्चालन गर्ने भएका छन ्। केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह, काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने भएका छन् ।
यससँगै केबलकारको सम्झौता खारेजीका लागि प्रदेश नं. १ का सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने, प्रदर्शन गर्ने पनि उनीहरूले तय गरेका छन् । त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहडताल लगायतका कार्यक्रम समेत घोषणा हुने विज्ञप्ति मार्फत चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा पूर्व उपप्रधान मन्त्री राजेन्द्र महतो, पूर्व मन्त्री गोपाल किराती, पहिचानवादी नेता खगेन्द्र माखिम, जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा, जसपाका केन्द्रीय सदस्य रमेश राई, नेपाल जनमुक्ति पार्टीका उपाध्यक्ष संविधानसभा सदस्य राजकुमार नाल्बो, नाउपाका नेता दिलकुमार लावती, जसपा प्रदेश १ का अध्यक्ष दिपक याक्खा, एमएनओ डिजीजिका जिवन मंगोल, किरात धर्म तथा साहित्य उत्थान संघका सुर्यविक्रम चेम्जोङ लगायत विभिन्न संघ संस्था र आन्दोलनरत पक्षका नेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नेताहरुले मुक्कुमलुङमा केवलकार निर्माण भए तेस्रो जनआन्दोलन घोषणा गरेर अघि बढ्ने समेत चेतावनी दिएका छन् ।
कियाचू उपाध्यक्ष गोविन्द आङबुहाङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महिला नेत्री सरस्वता सिंगक लिम्बुले गरेकि थिईन भने प्रेसविज्ञप्ति थरगत सयङका सचिव राम मादेनले पढेका थिए ।

 

सम्बन्धित समाचार

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...