फाल्गुनन्द गाउँपालिकाले १५ लाख रुपैयाँका कृषि उपकरणहरू कृषकहरूलाई हस्तान्तरण

 लिम्बुवान न्युज
                       

पान्थर, २२ साउन ।  फाल्गुनन्द गाउँपालिका, पाँचथरले  “कृषिमा आधुनिकता, कृषकमा समृद्धि” भन्ने नारालाई आत्मसात् गर्दै कृषि यान्त्रिकरण प्रवर्द्धन कार्यक्रमलाई याे बर्ष पनि निरन्तरता दिएकाे छ।

बुधबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजना अन्तर्गत कृषकहरूको जीवनमा नयाँ ऊर्जा थप्ने उद्देश्यसहित कृषकको लागत साझेदारीमा आधारित १५ लाख रुपैयाँ बराबरका कृषि उपकरणहरू वितरण गरिएको हो।

मिनि टिलर, स्प्रेयर, प्लास्टिक टनेल, सिँचाइ पाइप लगायत दक्ष र प्रयोगमैत्री यन्त्रहरू कृषकहरूलाइ वितरण गरिएकाे छ । कार्यक्रमबाट व्यवसायिक कृषक समूह, कृषि सहकारी संस्था, निजी फर्महरू तथा अपाङ्गता आयआर्जन कार्यक्रम अन्तर्गत छनोट गरिएका २५ जना कृषकहरू लाभान्वित भएका छन्। उपकरण वितरणले गाउँपालिका भरिका अगुवा कृषकहरूलाई प्रविधिमैत्री कृषि प्रणालीतर्फ प्रेरित गरेको छ।

उपकरण हस्तान्तरण कार्यक्रममा पालिका अध्यक्ष बृजहाङ आङ्देम्वे, उपाध्यक्ष ठाकुरसिं नेम्वाङ, वडाध्यक्षहरु, कार्यपालिका सदस्य,  प्राविधिक टोली र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको कृषि शाखा प्रमुख सुगम घिमिरेले जानकारी दिए ।

कार्यक्रममा कृषकहरूलाइ उपकरण वितरण गर्दै अध्यक्ष आङ्देम्वेले भने, “हाम्रो गाउँपालिका परम्परागत कृषिबाट बाहिर निस्किँदैछ। आधुनिक उपकरणको प्रयोगमार्फत श्रम घटाउने र उत्पादन बढाउने दिशामा हामी दृढ छौं।”

त्यस्तै, उपाध्यक्ष नेम्वाङले कृषिमा आधुनिक यन्त्रले क्रान्ति ल्याउने विश्वास व्यक्त गर्दै कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार गरिने बताए ।

कृषि शाखा प्रमुख घिमिरेले प्रविधियुक्त उपकरणको प्रयोगले कृषकको श्रम, समय र लागत बचत हुने र उत्पादनमा उल्लेखनीय वृद्धि हुने लक्ष्य राखिएको जनाए । उनले भने, “सामान्य मेहनतले असाधारण नतिजा दिने समय अब सुरु भएको छ। प्रविधिको सहारा लिएर कृषिमा आत्मनिर्भरता सम्भव छ।” उपकरण पाएका कृषकहरू उत्साहित देखिए। एक लाभग्राहीले भने, “पहिले गोरु जोतेर खेती गर्थ्यौं, पानी बोकेर सिंचाइ गर्नुपर्थ्यो। अब उपकरणको सहायताले समयमै खेती गर्न र राम्रो उत्पादन लिन सजिलो हुनेछ।”

धेरै धान फलाउने किसानलाई हरेक वर्ष सम्मान गर्दै आएको यस गाउँपालिकाले यस्ता कार्यक्रमलाई भविष्यमा अझ व्यवस्थित, प्रभावकारी र उत्पादनमुखी बनाउँदै लैजाने योजना बनाएको छ।

आत्मनिर्भरता, रोजगारी सिर्जना र कृषकमैत्री नीतिलाई प्राथमिकतामा राख्दै, समृद्ध र समुन्नत कृषिको बाटोमा अघि बढ्न गाउँपालिका प्रतिबद्ध देखिएको छ। यस कार्यक्रमले फाल्गुनन्द गाउँपालिकामा कृषि यान्त्रिकरणको नयाँ युगको सुरुवात गराएको छ।

आधुनिक उपकरणले खेतमा मात्र होइन, कृषकको मनमा पनि नयाँ आशा र आत्मविश्वास रोपेको छ। हरियाली भूमिमा अब प्रविधिको सुवास थपिँदै, फाल्गुनन्द प्रविधियुक्त, उत्पादनमुखी र आत्मनिर्भर कृषि यात्रातर्फ अघि बढेको छ।  कृषि उत्पादनमा यो गाउँपालिका जिल्लामा अगुवाईको रुपमा परिचित छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...