
दमक, १० भदौं । प्रदेश नं. १ (कोशी) प्रदेश सरकारले संचारसम्बन्धी ल्याएको विधेयकको विरोध गर्दै आएका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ प्रदेश नं. १ (कोशी) समितिले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रदेश सरकारले ल्याएको आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को पत्रकारहरुले विरोध गरेका छन् ।
महासंघको अगुवाईमा विभिन्न चरणबद्ध आन्दोलननै घोषणा भएपछि प्रदेश सरकारले ‘प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ माथि थप छलफल गर्न तयार भएको छ ।
संविधानको मर्म विपरितका प्रावधानसहित विधेयक पास गर्ने तयारी भएपछि पत्रकारहरु आन्दोलित भएका हुन् ।
आन्दोलनको घाषित कार्यक्रम अन्तरगत मंगलबार नेपाल पत्रकार महासंघ कोशी प्रदेशले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार ज्ञानपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आमसञ्चार विधेयकका विषयमा थप छलफल गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् ।
प्रदेशसभामा प्रवेश गरिसकेका कारण सरकारको मात्रै विषय नभएको बताउँदै उनले सरोकारवाला र दलहरूसँग थप छलफल गरेरमात्र अगाडि बढ्ने बताए ।
विधेयकका विषयमा प्रस्तुत भएका असहमतिका विषयलाई वार्ताछलफलका माध्यमबाट समाधान गर्न प्रयत्न गरिने उनले बताए ।
पत्रकार महासंघ लगायत विभिन्न पत्रकारजन्य संगठनहरुले विधेयकको विरोध गर्दै विज्ञप्ति साथै आन्दोलन शुरु गरेको छ ।