ललितपुर,१३ भ्स्दौ । नेपाल आदिवासी जनजाती महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने या अन्यमा गाभिने भन्ने सरकारको निर्णय सच्याउन माग गरेको छ । विहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै महासंघले निर्णय सच्याई प्रतिष्ठानलाई यथावत राख्न माग गरेको हो ।
सरकारले सार्वजानिक खर्च कटौती गर्न गठित कार्यदलको प्रतिबेदनको आधारमा प्रतिष्ठान लगायत अन्य सरकारी कार्यालयहरु खारेज गर्ने या अन्यमा गाभ्न मुख्य सचिव एकनारायण अर्यालको संयोजकत्वमा कार्यदल बनाई अध्ययन प्रक्रिया अघि बढेकोमा महासंघले आपत्ति जनाउदै उक्त प्रक्रिया सच्याई प्रतिष्ठान खारेजीको विषय रोक्न मन्त्री न्यौपानेसँग माग गरेको छ ।
सरकारले सार्वजानिक खर्च कटौती गर्न २०७५ सालमा डा. डील्लीराज खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले प्रतिष्ठानलाई अन्यमा गाभ्न निर्णय गरेको थियो ।
उक्त प्रतिवेदनलाई थप अध्ययन गरी प्रतिवेदनबाट खारेजीको विषय तत्काल हटाउन महासंघले मन्त्री न्यौपानेको ध्यानाकर्षण गराएको महासंघका अध्यक्ष ग्याल्जे शेर्पाले बताउनु भयो ।
मन्त्री न्यौपानेलाई ज्ञापनपत्र दिन अध्यक्ष शेर्पाको नेतृत्वमा महासचिव दिवस राई लगायत महासंघका प्रतिनिधि तथा जातिय संघसस्थाका प्रतिनिधिहरु सहभागी थिए ।