पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ६ गते बिहान १०ः०० देखि बेलुका ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ। सोही दिन बेलुका ५ः०० देखि ७ः०० बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।
आयोगका अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म हुनेछ भने सोही दिन दिउँसो ३ः०० देखि माघ ८ गते बेलुका ५ः०० बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ः०० देखि ७ः०० बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
यस्तै माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।
यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने आयोगले जनाएको छ। कार्यक्रम अनुसार मंसिर २१ गते बिहान १०ः०० देखि २३ गते दिउँसो ४ः०० बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्ने, मंसिर २४ गते बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलको नामावली प्रकाशन गर्ने, पौष १३ र १४ गते बिहान १०ः०० देखि ४ः०० बजेसम्म राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गर्ने र माघ २० गते बिहान १०ः०० देखि बेलुकी ५ः०० बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ।
स्वीकृत निर्वाचन कार्यक्रम अनुसार फागुन २१ गते बिहान ७ः०० देखि बेलुका ५ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगको विज्ञप्तिमा उल्लेख छ।