आज किरात समुदायको चार्ड उधौली मनाईदैः नेवारले पनि यःमरी पुर्णिमा मनाउँदै

 लिम्बुवान न्युज
                       

दमक, १८ मंसिर । मंसिरे पूर्णे अर्थात धन्यपूर्णिमाको दिन आज किरात समुदायले आफ्नो रितिरिवाज, परम्परा अनुसार विविध कार्यक्रम गरि मनाउँदैछन् । आफ्ना पूर्खाहरुको सम्मानमा किरातीहरुले चासोक, उभौली पर्व मनाउने गरेका छन् ।
किरात जातीहरु लिम्बुले चासोक, राईले उधौली साकेला, याक्खाले चासुवा र सुनुवारले फोलस्यादर पर्वका नाममा यो पर्वलाई मनाउँदै आएका छन् ।
यो पर्वको अवसरमा किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुल देवतालार्ई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने परम्परा आदिमकाल देखि नै चल्दै आइरहेको हुँदा यसलाई केही बर्ष देखि पर्वका रूपमा मनाउँछन् । अन्नबाली राम्रोसँग फलेर बर्षभरी खाने जोह गर्दै किरात समुदायहरुले खुशी साटसाट गर्दै उभौली चासोक मनाउने गरिन्छ ।
आज देशमा मात्र नभएर छिमेकी मुलुक भारत, भुटान, म्यानमार लगायत किरात समुदाय रहेका सबै देशहरुमा हर्षोल्लासका साथ यो पर्व मनाइदैछ । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ ।
भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषा संस्कार संस्कृति अनुसार पर्वलाई पुकार्ने प्रचलन रहेको छ ।
लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने उनीहरूले तागेरा निङ्वाभूमाङलाई आफ्नो देवता (माङ)का रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाभूमाङलाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मुर्ति पुजा लगायत कार्यहरु किरात समुदायले गर्ने प्रचलन छैन । किरातीहरु प्रकृति पुजक हुन् ।
आज विहानैबाट किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, किरात सुनुवार समाज सेवा लगायत संघ संस्थाहरुको अगुवाईमा आ–आफ्ना मौलिक परम्परा अनुसार पुजा गर्दै परम्परागत बाजागाजा सहित चण्डीनाच, च्याब्रुङनाच, ढोल नाच, केलाङ, डोकेनी लगायतका नाच नाचेर मनोरञ्जन गर्छन् ।
पर्वको अवसरमा किराँतहरूले आफ्नो परम्परागत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ । आज ललितपुरस्थित हात्तिवन, पर्वका चर्चित धार्मिक स्थलहरु, झापाको दुधे, दमक, मेचीनगर, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, उदयपुर, सुनसरी, मोरङ, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा लगायत स्थानका किरात तिर्थस्थलहरु, जातीय संघ संस्थाका विभिन्न समितिहरुले आ–आफ्नो क्षेत्रमा धुमधामका साथ पर्व मनाईरहेका छन् ।
वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका उनीहरुले आज उधौली पूजा गरेपछि लेखबाट तल बेसी झर्ने गर्छन् । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उँभौली पर्वलाई लिने गरिन्छ ।
उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् ।
यसैगरी नेवारसमुदयाले यःमरी पूर्णिमा पुन्हि मनाउँदैछन् ।
‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो भनिन्छ । अर्थात धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडएका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।
सरकारले यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई पुनः दिन थालेको छ । आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;