ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो ।
थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए ।
थापा सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो ।
कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो । यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा शेरबहादुर देउवाबाट गुमेको छ । देउवा पक्षले पनि आफू नै आधिकारिक भएको जिकिरसहित आयोगमा डकुमेन्ट बुझाएको थियो ।
यता यो निर्णय अमान्य भएको भन्दै देउवा पक्षले सर्वोच्च जाने र देशैभरी आन्दोलन गर्ने चेतावनी दिएको छ ।