बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

 लिम्बुवान न्युज
                       

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष समारोहमा ती कृतिहरू सार्वजनिक गरिएको हो ।

२०८२ सालमा प्रकाशित यी कृतिहरूमध्ये अधिकांश लिम्बू भाषा उच्च शिक्षा (एम.ए. र बी.ए.) तहमा अध्यापन हुने विषयवस्तुमा आधारित रहेका छन् । यसले लिम्बू भाषा, साहित्य तथा शैक्षिक सामग्री विकासमा नयाँ आयाम थपेको छ ।

विमोचित कृतिहरूमा बाल गीत संग्रह ‘फुङ’, ‘याक्थुङ पाङ–पाङवाइला’ (लिम्बू लोकनाटक), गीत संग्रह ‘सिलाम्साक्मा’, ‘मुन्चइत हेन्जिला मुक्सी नु परिक्हा’ (चलचित्र—परिभाषा, तत्व र प्रकारहरू), कथा संग्रह ‘थङ’, तथा ‘याक्थुङ आबु साम्लो–हेन्जिला मुक्सी नु परिक्हा’ (लिम्बू बालगीत—परिभाषा, तत्व र प्रकारहरू) रहेका छन् ।

यी कृतिहरूलाई किरात याक्थुङ चुम्लुङ पोर्तुगल, माल्टा, जर्मनी, रोमानिया, बेल्जियम, याक्थुङ मुन्चइत चोक सयङ सिक्किम, साथै चन्द्रकला साँबा, देवमान आङबो, संगीता सेरेङ चोङबाङ, कमला केरुङ र बद्रीप्रसाद सेनेहाङ लगायतले प्रकाशन गरेका हुन् ।

यसअघि नै सागर केरुङले लिम्बू तथा नेपाली भाषामा दर्जनौं नाटक, वैचारिक र साहित्यिक कृतिहरू लेखिसकेका छन् । उनका चर्चित कृतिहरूमध्ये ‘दोश्रो नागरिक’, ‘पासिभञ्ज्याङ’, ‘साक्थिम’, ‘सुनौली–रुपौली’, ‘सैमुन्द्री’, ‘नुमाहाङमा’, ‘केमाबा लाजे’, ‘सक्सा नु पेन्युक’ र ‘तियाहा’ विशेष रूपमा चर्चित छन् ।

नेपालबाट पहिलो पटक लिम्बू भाषामा उच्च शिक्षा हासिल गर्ने व्यक्तिका रूपमा परिचित केरुङ लामो समयदेखि नाट्य, चलचित्र तथा साहित्य क्षेत्रमा सक्रिय छन् । करिब दुई दशकदेखि निरन्तर रूपमा सिर्जनात्मक क्षेत्रमा क्रियाशील उनले लिम्बू भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।

साहित्य, चलचित्र र नाट्य क्षेत्रलाई एकैसाथ समेट्दै अघि बढिरहेका सागर केरुङका यी नयाँ कृतिहरूलाई लिम्बू साहित्यको शैक्षिक र वैचारिक आधार विस्तार गर्ने ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । यस उपलब्धिले लिम्बू भाषा साहित्यलाई मात्र होइन, सम्पूर्ण आदिवासी साहित्यिक आन्दोलनलाई नयाँ ऊर्जा र दिशा दिएको सरोकारवालाहरूको भनाइ छ ।

नयाँ पुस्ताका लागि प्रेरणादायी उदाहरण बनेको यो घटनाले मातृभाषा साहित्यप्रतिको आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;