माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

 लिम्बुवान न्युज
                       

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ।

माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो।

पालिका अध्यक्ष हेमन्त राईले गत वैशाख ११ गतेको ६६औँ कार्यपालिका बैठकको निर्णयअनुसार लिम्बू भाषा कार्यान्वयन गर्न लागिएको बताए। उक्त दिन एक विशेष समारोहबीच लिम्बू भाषालाई कामकाजी घोषणा गरिने अध्यक्ष राईले बताए।

माङ्सेबुङ गाउँपालिकामा बहुसङ्ख्यक नागरिकले बोल्ने लिम्बू भाषा (किरात सिरिजङ्गा लिपिमा लेखिने) भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

माङ्सेबुङ गाउँपालिकाले नेपालको संविधानले सुनिश्चित गरेको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकको कार्यान्वयन गर्ने उद्देश्यले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (फ) (१) बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै लिम्बू भाषालाई कामकाजी भाषाका रुपमा कार्यान्वयन गर्न लागेको हो।

“यहाँको बहुसङ्ख्यक लिम्बू जातिले बोल्ने भाषालाई हामीले जेठ १२ गतेदेखि माङ्सेबुङमा सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने तयारी गरेका छाँै”, अध्यक्ष राईले भने, “नेपालको संविधानले आत्मसात गरेको बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसाँस्कृतिक राष्ट्रको भावना, जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको मर्मअनुसार जातीय बाहुल्यताका आधारमा यो निर्णय गरेका हौँ।”

लिम्बू भाषा सरकारी कामकाजका रुपमा कार्यान्वयन गर्न सहजीकरणका लागि पाँचौँ तहको भाषिक सहजकर्ता करारमा नियुक्त भइसकेका छन्। माङ्सेबुङ गाउँपालिकाको ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका, २०७५’ र ‘माङ्सेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७४’ बमोजिम भाषिक सहजकर्ता नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले बताए।

माङ्सेबुङ गाउँपालिकाको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) मा नै समावेश गरी भाषिक सहजकर्ता नियुक्त गरिएको उनले बताए। “भाषिक सहजकर्ताको दरबन्दी ओएनएममा समावेश गरी स्वीकृत गरेर नियुक्त गरेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत राईले भने। भाषिक सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछ।

लिम्बू जातिको बाहुल्यता रहेको माङ्सेबुङमा बाहुल्य समुदायको सम्मानका लागि नेपालमै पहिलो पटक ‘लिम्बू भाषा’ कामकाजी बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए।

विसं २०७८को जनगणनाअनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२ दशमलव ८३ प्रतिशत लिम्बू र ३३ दशमलव ६ प्रतिशत राई जातिको बसोबास छ।

सम्बन्धित समाचार

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...