
दमक, १५ जेठ । प्रदेश नं. १ को इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषा घोषणा गरेको छ । मंगलबार पालिका प्राङ्गणमा एक कार्यक्रमकाको आयोजना गर्दै पालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रुपमा कार्यान्वयमा ल्याएको छ । योसँगै माङसबेबुङ ‘लिम्बू (याक्थुङ्) भाषा लागू गर्ने पहिलो पालिका बनेको हो ।
१ नं. (कोशी) प्रदेशका प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ‘लिम्बू भाषा’ कामकाजको भाषाको रुपमा लागू भएको घोषणापत्र वाचन गरेर औपचारिक रुपमा कार्यान्वयनमा ल्याएको हो ।
माङसेबुङ गाउँपालिकामा बसोबास गर्ने बहुसंख्यक याक्थुङहरुले बोल्ने ‘लिम्बू भाषा’ (किरात सिरिजङ्गा लिपिमा लेखिने) लाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयनमा ल्याइएको पालिकाका अध्यक्ष राईले बताए । २०८३ वैशाख ११ गतेको ६६औं कार्यपालिका बैठकको निर्णय अनुसार ‘लिम्बू भाषा’ कार्यान्वयनमा ल्याइएको उनले बताए ।

अबदेखि गाउँपालिका र मातहतका सबै सरकारी कार्यालयहरुमा प्रयोग हुने बोर्ड, लेटरप्याड, फाराम लगायतका कागजी सामग्रीहरुमा नेपाली भाषासँगै ‘लिम्बू (याक्थुङ्) भाषा’ तथा ‘किरात सिरिजङ्गा लिपि’ प्रयोग गरिने अध्यक्ष राईले जानकारी दिए ।
‘लिम्बू भाषा’ सरकारी काजकाजको भाषा घोषणासँगै माङसेबुङ गाउँपालिका र साम्जिक मुन्धुम आधारभूत विद्यालयबीच विद्यालय मर्मत सम्भारको योजना नेपालीसँगै ‘लिम्बू भाषा’ र ‘किरात सिरिजङ्गा लिपि’ मा लेखिएको सम्झौतापत्रमा द्विपक्षीय हस्ताक्षर गरिएको छ । सम्झौतापत्रमा गाउँपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासीय अधिकृत बुद्धिप्रसाद खतिवडा र विद्यालयका तर्फबाट प्रधानाध्यापक कल्पना लिङदेन लिम्बूले हस्ताक्षर गरेका छन् ।
माङसेबुङ गाउँपालिकाले नेपालको संविधानको धारा ३, ६, ७ (२) तथा धारा ३२ (१) ले सुनिश्चित गरेको भाषा तथा संस्कृति सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्ने उद्देश्यले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ (फ) (१) बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै ‘लिम्बु भाषा’ लाई कामकाजी भाषाका रुपमा कार्यान्वयन गरिएको उनले बताए ।
‘यहाँको बहुसंख्यक लिम्बू जातिले बोल्ने ‘लिम्बू भाषा’लाई हामीले आजदेखि माङसेबुङमा सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याएका छौं,’ अध्यक्ष राईले भने, ‘नेपालको संविधानले आत्मासात गरेको बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसाँस्कृतिक राष्ट्रको भावना, जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको मर्मअनुसार जातीय र भाषिक बाहुल्यताका आधारमा यो निर्णय गरेका हौं ।’
गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले जातीय र भाषिक बाहुल्यताको आधारमा पहिलो पटक ‘लिम्बू भाषा’लाई सरकारी कामकाजीको रुपमा लागू गरिएको दावी गरे । ‘हामी ७५३ पालिका मध्ये ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रुपमा प्रयोगमा ल्याउने पहिलो पालिका बनाएका छौं,’ –उपाध्यक्ष नेम्बाङले भने, ‘यसलाई प्रभावकारी उपयोगका लागि सबै सरोकारवालाको सहयोगको अपेक्षा छ ।’

‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा लागू भएपछि सरोकारवालाहरु समेत उत्साहित भएका छन् । किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार मोहनसिंह थेवेले ‘लिम्बू भाषा’ कामकाजको भाषा घोषणा हुनु समग्र मातृभाषीहरुको लागि खुसीको खबर रहेको प्रतिक्रिया दिए । उनले ‘लिम्बू भाषा’ कामकाजी भाषाको रुपमा कार्यान्वयनमा आउनु भाषाको संरक्षण र पुस्तान्तरणका लागि कोशेढुङ्गा साबित हुने उल्लेख गरे । ‘मातृभाषालाई संविधानप्रदत्त उपयोगमा ल्याउन माङसेबुङ गाउँपालिकाले सुरु गरेको कार्यलाई सकारात्मक रुपमा लिएका छौं,’ –थेवेले भने, ‘यसले मातृभाषाको संरक्षण र पुस्तान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि चुम्लुङको तर्फबाट समेत सकारात्मक सहयोग रहनेछ ।’
पालिकाले लिम्बू भाषा सरकारी कामकाजका रुपमा कार्यान्वयन सहजीकरणका लागि पाँचौ तहको भाषिक सहजकर्ता करारमा नियुक्ति गरेको बताइएको छ । भाषिक सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार १६ हजार आठ सय १० जनसंख्या रहेको माङसेबुङमा ४२ दशमलव ८३ प्रतिशत लिम्बू र ३३ दशमलव ६ प्रतिशत राई जातिको बसोबास रहेको छ । जातीय र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले २०७५ साल मङ्सिर १३ गतेदेखि ५ नं. वडा कार्यालयमा ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरी लागू गरिसकेको थियो । सो वडामा २०७५ मा नै एक जना भाषिक सहजकर्ता (सहायक चौथो) नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख परशुराम खापुङले भूगोल, जाति, भाषा, लिपि, धर्म र संस्कृतिको विविधता मुलुकको अमूल्य सम्पत्ति भएको बताएका छन् । उनले विविधताबीचको एकता नै नेपालको शक्ति भएको पनि बताए ।
‘फूलबारीमा जसरी धेरै प्रकारका फूल समान रूपमा फुल्दा बगैंचाको सौन्दर्य बढेर जान्छ, त्यसरी नै नेपाललाई बगैंचाका रूपमा सम्झेर, हिमाल पहाड, तराई, जातजाति, भाषाभाषी, संस्कृति र सम्पदाले समानुपातिक अवसर पाउँदा देश सुन्दर बन्छ,’ उनले भने, ‘सबैको पहिचानको सहभागिताले राष्ट्रिय पहिचान बलियो हुन्छ, राष्ट्रिय पहिचान बलियो भए राष्ट्रिय एकता बलियो हुन्छ ।’ उनले सबै समुदायबीचको सद्भाव, मेलमिलाप, प्रेम र सहिष्णुता हाम्रा आवश्यकता भएको बताए ।
माङसेबुङका जनप्रतिनिधिहरुको चिनारी पुस्तक विमोचन
इलामको माङसेबुङमा ‘माङसेबुङका जनप्रतिनिधिहरूको चिनारी पुस्तक’ विमोचन भएको छ । लिम्बू भाषा सरकारी कामकाजको भाषा घोषणा कार्यक्रमको अवसरमा माङसेबुङ गाउँपालिका क्षेत्रको राजनीतिक इतिहास, लोकतान्त्रिक अभ्यास र विभिन्न कालखण्डका जनप्रतिनिधिहरूको योगदान समेटिएको पुस्तक विमोचन भएको छ ।
पत्रकार राम योङहाङद्वारा लिखित एवम् माङसेबुङ गाउँपालिकाद्वाराप्रकाशित पुस्तकमा वि.सं. २०१९ देखि २०७९ सालसम्म विभिन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको चिनारी समावेश गरिएको छ ।

वान्तावा भाषा पाठ्यक्रम पनि विमोचनः उत्कृष्टहरुलाई सम्मान
मंगलबार पालिका कार्यलयमा आयोजित लिम्बू भाषा सरकारी कामकाजको भाषा घोषणा कार्यक्रमको अवसरमा ‘वान्तवा भाषा पाठ्यक्रम’ पनि विमोचन भएको छ । आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ र ‘लिम्बू भाषा पाठ्यक्रम’ कार्यान्वयनमा ल्याएको इलामको माङसेबुङ गाउँपालिकाले ‘वान्तवा भाषा पाठ्यक्रम’ पनि निर्माण गरेको हो ।

यसअघि माङसेबुङ गाउँपालिकाले आधारभूत तह (कक्षा १–८) सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो माङसेबुङ’ निर्माण गरी ऐच्छिक विषयकारुपमा सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गर्दै आएको छ ।
त्यस्तै, आधारभूत तह (कक्षा १–५) सम्म लिम्बू भाषाको पाठ्यक्रम निर्माण गरी चारवटा विद्यालयमा पठनपाठन गर्दै आएको छ ।माङसेबुङले लिम्बू जातिको बाहुल्यता रहेको वडा नं. ३ स्थित पवित्रा आधारभूत विद्यालय, वडा नं. ५ स्थित सरस्वती माध्यमिकविद्यालय, साम्जिक मुन्धुम आधारभूत विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पाठ्यक्रम पठनपाठन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए ।
माङसेबुङमा सामुदायिकतर्फ माध्यमिक विद्यालय (कक्षा १–१२) तीनवटा, माध्यमिक विद्यालय कक्षा (१–१०) सातवटा, आधारभूतविद्यालय (कक्षा १–८) १६ वटा, र आधारभूत विद्यालय (कक्षा १–५) सम्मका चारवटा विद्यालय छन् । संस्थागततर्फ माध्यमिक विद्यालयकक्षा (१–१०) दुई र आधारभूत विद्यालय (कक्षा १–८) का दुईवटा विद्यालय छन् ।
यसैगरी माङसेबुङ गाउँपालिकाका उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यार्थी तथा खेलाडीहरुलाई समेत सो अवसरमा सम्मान गरिएको थियो ।

तस्वीरः सजन राइ/माङसेबुङ