
ललितपुर, २५ साउन । ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ ।
सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित तीनदिने सम्मेलनको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सोमबार उद्घाटन गर्नु भएको हो ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले लोकतन्त्रलाई बलियो बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा प्राप्त गर्न पाउने अवस्था लोकतन्त्रका लागि आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका संसद सुरेन्द्र चौधरी, ठाकुरसिंह थारु, नेपाली कांग्रेसका निश्कल राई, नेकपा एमालेका सांसद क्षितिज थेवे लगायत राजनीति दल, पत्रकार जन्य संगठनका प्रमुखहरुको उपस्थिति रहेको छ ।

आजबाट साउन २७ गतेसम्म हुने सम्मेलनबाट देशभरीबाट ३ सयभन्दा धेरै आदिवासी तथा मातृभाषी पत्रकारहरुको सहभागिता रहेको उक्त सम्मेलनमा २७ देशका ५४ विदेशी पत्रकारहरुको समेत सहभागिता रहने फोनिजका संघीय अध्यक्ष लक्की चौधरीले बताउनु भयो । यसैगरी सम्मलेनमा लिम्बु पत्रकार संघका अध्यक्ष सन्देश सुब्बाले लिम्बु पत्रकारहरुको समेत सहभागिता रहेको लिम्बुवानखबरलाई बताउनु भयो ।
