दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। ‘पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक प्रतिनिधित्व’ भन्ने मूल नाराका साथ महाधिवेशन सञ्चालन हुन लागेको हो।
पार्टीको केन्द्रीय नेतृत्व चयनका साथै भावी राजनीतिक दिशा तय गर्न आयोजना गर्न लागिएको यस महाधिवेशनलाई भव्यताका साथ सफल पार्न व्यापक तयारी भइरहेको आयोजकले जनाएको छ।
नेपाल जनमुक्ति पार्टी, संघीय परिषद्को आयोजनामा हुन लागेको उक्त महाधिवेशनको स्थानीय व्यवस्थापनको जिम्मेवारी नेपाल जनमुक्ति पार्टी, झापा जिल्ला समितिले लिएको छ। पार्टीका उपमहासचिव विष्णु थाम्देनका अनुसार महाधिवेशनमा देशभरका प्रतिनिधि, पर्यवेक्षक तथा शीर्ष नेताहरूको सहभागिता रहनेछ।
देशव्यापी सञ्जाल र पहिचानसहितको संघीयताको मुद्दालाई जोडदार रूपमा उठाउँदै आएको पार्टीले यस महाधिवेशनमार्फत आफ्ना नीति, सिद्धान्त र साङ्गठनिक सुदृढीकरणका नयाँ कार्यक्रमहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।