
ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि सन् २०२३ को प्रिमियर कप फाइनलमा पनि यूएईलाई नै हराएर उपाधि जितेको थियो।
आसिफको शतक र विशाल योगफल
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको मजबुत योगफल खडा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेल्दै १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए। यो उनको ओडीआई करियरको दोस्रो शतक हो।
नेपाललाई बलियो स्थितिमा पुर्याउन आसिफले पहिलो विकेटका लागि अर्जुन कुमाल (४३ रन) सँग ९७ रन, दोस्रो विकेटका लागि इशान पान्डेसँग ३६ रन र तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल (४० रन) सँग ६८ रनको महत्वपूर्ण साझेदारी गरे। त्यस्तै, गुल्शन झाले विष्फोटक ब्याटिङ गर्दै मात्र ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ५२ रनको योगदान दिए।
बलिङतर्फ यूएईका इबरार अहमदले ४ विकेट तथा खुजाइमा बिन तनभिरले २ विकेट लिए। हैदर अली र अदीब उसमानीले १-१ विकेट हात पारे।
२६९ रनमा समेटियो यूएई
३१४ रनको फराकिलो लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रन बनाउँदा अलआउट भयो। यूएईका लागि राहुल चोपराले अविजित शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यसैगरी तनिश सुरीले ४२ रन र कप्तान हरप्रित भाटियाले ३३ रन बनाए।
नेपालका तर्फबाट कसिलो बलिङ गर्दै करण केसीले ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट हात पारे। कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट बाँडे।