झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

,   लिम्बुवान न्युज
                       

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ।

सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले संयुक्त रूपमा लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गर्नुभएको हो।

जिल्ला समितिका अनुसार यस पटक वितरण गरिएको लालपुर्जा अन्तर्गत कुल १ बिघा ६ कट्ठा ६ धुर जग्गा २६ परिवारको नाममा औपचारिक रूपमा कायम गरिएको छ। लामो समयदेखि भोगचलन गर्दै आए पनि कानुनी प्रमाण नहुँदा बैंकिङ कारोबार, अंशबण्डा र राज्यबाट पाउने सेवाबाट वञ्चित हुँदै आएका परिवारले अब जग्गाको कानुनी स्वामित्व पाएका छन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले नेपाल सरकारले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँका अनुसार बुद्धशान्ति गाउँपालिकामा मात्रै भूमिहीन दलित परिवार ३९ र भूमिहीन सुकुम्बासी परिवार १४८ को लगत संकलन भएको छ र उनीहरूको प्रमाणीकरण तथा जग्गा नापजाँचको कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

“यो पहिलो चरण हो।  यस चरणमा सरकारी, ऐलानी वा पर्ति जग्गामा घरटहरा बनाएर कम्तीमा १० वर्षदेखि बसोबास गरिरहेका अव्यवस्थित बसोबासीलाई मात्रै व्यवस्थित गरिएको हो,” प्रजिअ पोखरेलले भन्नुभयो, “भूमिहीन दलित र सुकुम्बासीको सम्पूर्ण प्रमाणीकरण प्रक्रिया पूरा भएपछि दोस्रो चरणमा उनीहरूलाई पनि लालपुर्जा वितरण गरिनेछ।

“भूमि समस्या समाधान आयोगले अव्यवस्थित बसोबासीलाई उनीहरूले भोगचलन गरिरहेको जग्गाको अधिकतम १० धुरदेखि १ कट्ठासम्मको क्षेत्रफललाई नियमानुसार राजस्व लिएर वैधानिकता दिने व्यवस्था गरेको छ भने भूमिहीनलाई सरकारले नै जग्गा खरिद गरेर वा सरकारी जग्गाबाट उपलब्ध गराउने नीति लिएको छ।

जिल्ला समितिले झापाका १५ वटै पालिकामा तथ्यांक संकलन र प्रमाणीकरणको काम जारी रहेको जनाएको छ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;