
ललितपुर, ५ मंसिर । ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथिभरा देवी दर्शन केबलकार निर्माण आयोजना तत्काल खारेज गर्न माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समिति र मुक्कुमलुङ ताइसेःप चुम्भोले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत दुवै समितिले केबलकार आयोजना रद्द गर्नुपर्ने अडान दोहोर्याउँदै आन्दोलनका क्रममा भएका भनिएका दमन तथा मानवअधिकार उल्लङ्घनका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । साथै, आन्दोलनकारीमाथि लगाइएका सम्पूर्ण मुद्दा खारेज गरिनुपर्ने समितिको माग छ ।
सङ्घर्ष समितिले आन्दोलनका क्रममा सुरक्षाकर्मी र केबलकार निर्माणमा संलग्न पक्षबाट आक्रमण, गोली प्रहार तथा धरपकड भएको आरोप लगाएको छ । पीडितका उजुरी दर्ता नभएको भन्दै सम्बन्धित दोषीमाथि कारबाही गर्न, घाइतेहरूको उपचार खर्च व्यहोर्न तथा जीविकोपार्जनको उचित व्यवस्था मिलाउन समितले सरकारसँग आग्रह गरेको छ ।
यसैगरी, मुक्कुमलुङको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्त्व जोगाउन पाथिभरा क्षेत्र विकास समिति खारेज गरी स्थानीय आदिवासी समुदायको सहमति र नेतृत्वमा ‘मुक्कुमलुङ क्षेत्र विकास समिति’ गठन गर्नुपर्ने माग अघि सारिएको छ ।
सरकारद्वारा गठित सात सदस्यीय कार्यदलले केबलकार निर्माणसम्बन्धी अध्ययन गरी बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र त्यसमा समेटिएका सुझाव तथा कानुनी कारबाहीका सिफारिसहरू कार्यान्वयन गर्नसमेत समितिले माग गरेको छ ।
मुक्कुमलुङ याक्थुङ लिम्बू समुदायको मुन्धुमी आस्था, सांस्कृतिक पहिचान र पुर्ख्यौली विरासतसँग जोडिएको पवित्र स्थल भएकाले स्थानीय आदिवासी समुदायको स्वतन्त्र तथा पूर्वसूचित सहमतिबिना कुनै पनि विकास आयोजना अघि बढाउन नहुने समितिको जोड छ । आफूहरू विकासको विरोधी नभई समुदायको धार्मिक तथा सांस्कृतिक अस्तित्व र प्राकृतिक सम्पदाको संरक्षण अभियानमा रहेको स्पष्ट पार्दै समितिले माग सम्बोधन नभए निरन्तर सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ ।
सङ्घर्ष समितिका अनुसार काठमाडौँको माइतीघर मण्डलासहित कोशी प्रदेश (तत्कालीन प्रदेश नं. १) का १४ वटै जिल्लामा पत्रकार सम्मेलन गरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइएको छ ।

