कुलमानको ख्याति र सरकारको छटपटी

  ज्ञानुमाया राई
                       

म विद्यावारिधि गर्न चीन आउँदा नेपाल घुमेर फर्केका अधिकांश चिनियाँ मित्रहरूले सोध्ने प्रश्न एउटै हुन्थ्यो– ‘तिमीहरूको देशमा बिजुली आउनेभन्दा जाने समय बढी हुन्छ, कसरी अध्ययन गर्छौ ?’

मैले उनीहरूलाई अब नेपाल लोडसेडिङमुक्त भइसक्यो भन्दा उनीहरूमध्ये अधिकांशले विश्वास नै गर्न सकेनन् । १८ घण्टासम्मको लोडसेडिङ देखेर आएकाले नपत्याउनु पनि स्वभाविक नै थियो ।

मैले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा आएका एकजना व्यक्तिको चमत्कारीक व्यवस्थापनबाट अपत्यारिलो रूपमा नेपाल लोडसेडिङमुक्त भएको छ भनेर सुनाउँदा उनीहरू आश्चर्यमा मात्र परेनन्, उनीबारे जान्नसमेत औधी उत्सुक देखिए । उनीहरूको जिज्ञासा मेटाउन मेरो युनिभर्सिटीमा मैले कक्षा नै लिनुपरेको थियो । यहाँ त्यस्ता महत्त्वपूर्ण कुरा र जानकारीहरू कसैले पाए, त्यसबारे छलफल र विधार्थीलाई जानकारी गराउने परम्परा नै रहेछ । यसलाई पनि सिकाइको एउटा महत्त्वपूर्ण पाटोको रूपमा लिने गरिँदोरहेछ ।

लोडसेडिङमुक्त हुनुअघिसम्म आम नागरिकहरू जस्तै कुलमानको बारेमा म पनि अनभिज्ञ नै थिएँ । लोडसेडिङमुक्त भएपछि भने उनको बारे धेरथोर मैले विभिन्न सञ्चारमाध्यममा अध्ययन गरेकी थिएँ । जुन पछिल्लो समय चिनियाँ मित्रहरूको जिज्ञासा मेटाउन सहयोग पुग्यो ।

नेपाली समाजमा एउटा उखान प्रचलित छ– जुन जोगी आए पनि कानै चिरेको । यो नेपाली जनजिब्रोमा धेरै आउने उखानमध्येको एक हो । यो उखानले राज्यका विभिन्न अंग र निकायहरूमा नियुक्ति भएर आउने पात्रसँगै उनको कार्यशैली र प्रवृत्तिलाई लिएर जनमानसमा रहेको आमधारणालाई प्रतिबिम्बित गर्छ । त्यतिमात्र होइन, यसले यथास्थितिमा चल्नबाहेक कसैबाट देश र समाजका लागि उल्लेख्य काम हुँदैनन् भन्ने जनमानसमा रहेको निराशालाई पनि प्रतिबिम्बत गर्छ ।

यतिबेला सरकारको प्राथमिकता कुलमानजस्ता थुप्रै क्षमतावान् र देशलाई नयाँ सोच दिन सक्ने धेरै व्यक्तिहरू पहिचान र उनीहरूलाई सोहीअनुरूप काममा लगाउने हुनुपर्छ । नेपालको कर्मचारी संयन्त्रभित्र पनि थुप्रै कुलमानहरू गुम्सेर, ओझेलमा परेर निराश भएका छन् ।

लोडसेडिङबाट आक्रान्त बनिरहेको नेपाली समाजमा अनपेक्षित रूपमा कुलमानले लोडसेडिङको अन्त्य गर्दै जनताबीच एउटा सकारात्मक सन्देश प्रवाह गर्न सफल भए । यसबाट देशका सबै क्षेत्रसँगै, विशेष गरी राज्यसंयन्त्रमा राम्रो सन्देश प्रवाह भएको विश्लेषण गरिन्छ ।

लोडसेडिङको अन्त्यमा ‘क्रेडिट’ बाडफाँट गर्दा कुलमानको हिस्सामा कति आउँछ त्यो मलाई थाहा छैन तर, नेपालको सामान्य जनताहरूसम्म स्थापित भएका कुरा के हो भने कुलमान आएपछि लोडसेडिङ हट्यो ।

कुलमानको सफलताले सर्वसाधारणदेखि उच्चपदस्थ अधिकारीहरू र नेतृत्व तहसम्म पनि ‘गर्दा हुनेरहेछ’ भन्ने एउटा नजिर भने स्थापित भएको छ । साथै एउटा व्यक्तिको आगमन र बहिर्गमनबाट पनि उल्लेख गर्न लायक परिवर्तन सम्भव हुनेरहेछ भन्ने उदाहरण स्थापित भएको छ । यो कुलमानले आफ्नो करियर र सम्वभत जीवनकालमा पाएको सबैभन्दा ठूलो उपलब्धि र ख्याति हो ।

अहिले कुलमानको पुनःनियुक्ति हुने वा नहुने भन्ने विषयलाई लिएर सर्वसाधरणमा व्याप्त चासो–चर्चा पनि यही कुराको प्रतिफल हो । यस मानेका कुलमानको पुनः नियुक्ति हुनु र नहुनुमा व्यक्तिगत रूपमा कुलमानलाई फरक नपर्न सक्छ । किनकि उनले यसबीच आर्जन गर्ने जति ख्याति र लोकप्रियता कमाइसकेका छन् । फरक पर्ने त सरकारलाई मात्र हो ।

राम्रो काम कुराको सधैं राजनीतिक नेतृत्वले मात्र क्रेडिट (जस) लिने परम्परा विपरीत पछिल्लो उपलब्धिको सम्पूर्ण जस एकलौटी रूपमा उनको पोल्टामा पर्न गयो । जुन कुरा राजनीतिक नेतृत्वलाई पच्न सकिरहेको छैन ।

कुलमानको नियुक्तिले यसपछिको क्रेडिट पनि उसैले लिने हो कि भन्ने पीर नेतृत्व तहमा देखिन्छ । त्यसैकारण पनि उनको पुनःनियुक्तिलाई लिएर सरकार दुविधामा परेको हुन सक्छ । यतिबेला कुलमानको नियुक्ति सरकारको लागि भालुको कन्पटजस्तै बनेको छ ।

नियुक्ति नगर्दा जनआक्रोश खेप्नुपर्ने हुँदा यसपछिका राम्रो कामको जस पनि उसैको भागमा जान सक्ने कुराबाट सरकार पिरोलिएको हुन सक्छ । जुन कुरा कुलमानलाई जारी गर्न लगाएको विज्ञप्ति र हालै सरकारको नियमित ‘प्रेसमिट’मा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चारमन्त्री युवराज खतिवडाबाट व्यक्त अभिव्यक्तिले पनि केही हदसम्म यसलाई प्रष्ट गरेको छ ।

तर, यतिबेला कुलमानको नियुक्तिलाई लिएर सरकार दुविधामा नपर्नु नै बुद्धिमानी हुन सक्छ । सरकारको कार्यशैलीलाई लिएर जनतामा असन्तुष्टि बढिरहेको बेला जनताबीच राम्रो छवि बनाउन सफल भएको व्यक्तिले निरन्तरता नपाउँदा यसले सरकारको छविलाई झन् धुमिल बनाउन सहयोग गर्नेछ ।

यतिबेला सरकारको प्राथमिकता कुलमानजस्ता थुप्रै क्षमतावान् र देशलाई नयाँ सोच दिन सक्ने धेरै व्यक्तिहरू पहिचान र उनीहरूलाई सोहीअनुरूप काममा लगाउने हुनुपर्छ । नेपालको कर्मचारी संयन्त्रभित्र पनि थुप्रै कुलमानहरू गुम्सेर, ओझेलमा परेर निराश भएका छन् ।

तिनीहरूलाई पहिचान गरेर प्रोत्साहित गर्न जरुरी छ । उनीहरूको क्षमता र सीपको अधिकतम उपयोग हुने वातावरणको सृजना गर्नुपर्छ । तबमात्र सरकारप्रतिको जनसमर्थन चुलिन सक्छ । एउटा कुलमानको विषयमा अल्मलिनुभन्दा अरू थुप्रै कुलमानहरूलाई अगाडि ल्याउने काममा सरकारको ध्यान केन्द्रित हुनुपर्छ । यसो हुँदा राम्रो कामको जस एक व्यक्तिमा मात्र जाने अवस्था पनि रहँदैन । सयमात्र हैन, हजारमा एक सफल हुँदा त्यसको जस एकलौटी रूपमा उसैमा पोखिनु स्वभाविक हो । यदि एकसाथ दश कुलमानहरू सफल देखिएको भए त्यसको सम्पूर्ण जस व्यक्तिमा नभई सरकारमा जाने थियो । यो यथार्थ बुझ्न जरूरी छ ।

अहिले बहुमतको सरकार छ । सरकारले चाहने हो भने यो पद्धति स्थापित हुन सक्छ । तर, झिनामसिना कुरामा मात्र सरकार अल्मलिरह्यो भने सरकारको लागि मात्र हैन यो देशकै लागि पनि दुर्भाग्य हुनेछ । व्यक्ति र सरकार फरक हो । एउटा व्यक्तिले क्रेडिट लिँदा सरकार त्यसबाट वञ्चित हुनुपर्छ भन्ने सोच निकृष्ट सोच हो ।

सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारा साँच्चिकै व्यवहारमा रूपान्तरण गर्ने सोच हो भने योग्य व्यक्तिलाई योग्य ठाउँमा नियुक्त गर्नु पहिलो शर्त हो । तबमात्र अपेक्षित प्रतिफल सम्भव हुनसक्छ । सरकार हरेक कुरामा अल्मलिँदै जाने हो भने सुख र समृद्धिको नारा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझैं हुनेछ ।

(राई पेइचिङमा विद्यावारिधिको सोध गर्दैछिन्)

(अनलाइनखबरबाट)

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...