ओ ! मेरो प्रिय कवि

 लिम्बुवान न्युज
                       

कविता

                       सुन्दर कुरूप

 

दरबारका पाखुराभरि

खोपिएका छन् जँगबहादुरको नयाँ ट्याटु

शासकहरुको नयाँ कोटको खल्तीबाट

आइरहेछ रगतको आलो गन्ध

इँटाभट्टीको चिम्नीबाट उडिरहेछ

उही बुढो मजदुर धुवाँ

सबैभन्दा ढिलो घाम अस्ताउने

मालिकको कारखानाभित्र

आत्महत्या गरिरहेछ भोकहरुले

इतिहासको निसासिदो पानाभित्र

बडो मुस्किलले सास फेरिरहेछन्

केही अक्षर

साँझमा उम्रिएका जिन्दगी

टुक्राटुक्रा सडकको ऐना हेरेर

टाँसिरहेछ अनुहारमा छरपस्ट आफ्ना नाक, मुख र आँखाहरु

ओ, मेरो प्रिय कवि !

तिमी चै किन चुपचाप छौ

यतिखेर ?

चोक, हाटबजार,

सरकारी कार्यलयछेउ

सिपाही बोकेर उभिरहेछ बन्दुक

न्यायालयछेउ उभिएर बेफिक्री हाँसिरहेछ अपराधी

न्यायाधीश छिनछिनमा फेरिरहेछ चस्माको पावर

आशीर्वादमा तरबार बाँडिरहेछन् धर्मगुरु

पानीलाई बाफ बनाएर बेचिरहेछ उत्तरआधुनिक व्यापारी

मसाज सेन्टरबाट तप्प-तप्त चुहिरहेछ वीर्यको अट्टहास

निरीह आँखाहरू टेकेर हिँडिरहेछ सरकारी गल्ली

जङ्गल हिँडिरहेछ विश्वविद्यालय

खित्का छोडेर हाँसिरहेछ श्रीपेच सत्ता

बगर हिँडिरहेछ नदीहरु

ओ, मेरो प्रिय कवि !

तिमी चै कहाँ

चुपचाप हिँडिरहेछौ यतिखेर

कि, आफूभित्रको कविको हत्या गरेर

पखाली रहेछौ कलममा टाँसिएका रगतका छिर्काहरु

 

हेरेर आनन्दित

हुनलाई त धेरै सुन्दर चिजहरु छन् यो देशमा

जस्तो अग्ला/अग्ला हिमचुली

मनमोहक पहाडी दृश्य

गुराँसको रातो सौन्दर्य

नदी, झरना, तालतलैया

रङ्गीबिरङ्गी फूल

चराचुरुङ्गीको कलात्मक नृत्य,

बेसीका फाँटहरु

देउराली, चौतारी

समग्रमा एउटा सुन्दर देश

तर जब निस्कन्छौ यात्रामा

रुखका पात/पातमा अल्झिएका

निरीह मानिसका आँसुहरुले

सोध्ने छ तिम्रो कविताको ठेगाना

वृद्धघरहरुमा भोकले मुर्झारहेका पेटहरुले

छाम्नेछ तिम्रो कविताको छाती

जोडजोडले चिच्याउनलाई

माग्ने छ तिम्रो कविताको आवाज

ओ ! मेरो प्रिय कवि

यो पृथ्वीमा कसैले पनि चुपचाप बस्न

नसिकोस् तिम्रो कविताबाट !

(कान्तिपुर अनलाइन संस्करणबाट)

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...