
दमक, १९ पौष । संयुक्त पहिचानवादी मोर्चाले लिम्बुवानस्थित ताप्लेजुङमा अवस्थित रैथाने याक्थुङ लिम्बु समुदायको आस्थाको केन्द्र मुक्कुमलुङ सेमुक्तुमुक्तुबो माङको अस्तित्व समाप्त गर्ने विकासको नाममा जबरजस्ती केवलकार निर्माण योजना रोक्न आव्हान गरेको छ ।
मोर्चाले विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा सैनिकीकरण गर्दै विकासको नाममा त्यसको सांस्कृतिक अतिक्रमण मान्य नहुने भनेको छ । एक पुँजीपति दलालको अगुवाईमा बन्न लागेको केलवकार निर्माण बढाउन शसस्त्र प्रहरी र जनपथ प्रहरी नै तैनाथ गरि सत्ताले पञ्चायती शैलीमा त्यहाँका रैथानेहरु रोजी रोटी खोस्ने दुस्साहस गरेको भन्दै त्यसको विरोध गरेको जनाएको छ ।
मोर्चाले विश्वका आदिवासीहरुको जल, जंगल, जमिन, सम्पदा, संस्कृति आदि राज्यले खोस्न विकासको भ्रम छर्दै सैनिकीकरण गर्दै गएकोमा आपत्ति जनाउँदै तत्काल बन्द गर्न आव्हान गरेको छ ।
नेपालको संविधानको धारा ३२, धारा ५१ को .(ग)मा व्यवस्था भएको समुदायको सांस्कृतिक अधिकार, आइएलओ १६९ लगायत अन्तराष्ट्रि कानून र विश्वव्यापी मानवअधिकारले सुनिश्चित गरेका अधिकार तथा सामाजिक सांस्कृतिक अधिकारको सम्मान गर्न र जनताको नैसर्गिक अधिकार उपभोगमा बाधक नबन्न ओली सरकारलाई विज्ञप्ति मार्फत आग्रह गरेको छ ।
संयुक्त मोर्चाका चार शिर्ष नेताहरु प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिका संयोजक डकेन्द्र सिंह थेगिम, पहिचानवादी मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावती, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा र नाउपा संघीय अध्यक्ष ज्ञान बहादुर गरुङ्ले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

यसैगरी शुक्रबार आज ताप्लेजुङ फुङलिङ बजारमा मुक्कुमलुङ संरक्षण समितिको आयोजनामा र्याली सहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिई कोणसभा गरिएको पहिचानवादी मोर्चाका नेता कुमार साम्युले बताउनु भयो । र्यालीमा ताप्लेजुङका हजारौं सहभागि भएका थिए ।
