
पथरीशनिश्चरे, २७ पौष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशको तेस्रो अधिवेशन हुनेभएको छ । शनिबार मोरङको पथरीशनिश्चरेस्थित कियाचु मोरङ जिल्ला कार्यालयमा बसेको पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो ।
प्रदेश अध्यक्ष मधुराज केरुङको अध्यक्षतामा बसको बैठकले माघ २९ र ३० गते दुईदिने अधिवेशन गर्ने निर्णय गरेको हो ।
प्रदेश अधिवेशन अघि प्रदेशस्थित सबै जिल्ला अधिवेशनहरु सम्पन्न गरिसक्ने मुख्यसचिव नरेन्द्रराज केरुङ्ले बताए । उनले हालसम्म पाँचथर, झापा र संखुवासभाको जिल्ला अधिवेशन भईसकेको र अन्य जिल्लाहरुमा पनि माघको २७ गतेभित्र सम्पन्न गरिसक्ने बताए ।
शनिबार बसेको बैठकले आर्थिक समिति, प्रचारप्रसार समिति, खाना तथा आवास उपसमिति, मञ्च व्यवस्थापन समिति, प्रतिनिधि तथा पर्यवेक्षक समिति, सांस्कृतिक तथा सांगीतिक उपसमिति लगायत उपसमितिहरु गठन गरेको मुख्यसचिवले बताए ।
विन्द्र नाल्बोको संयोजकत्वमा बनेको आर्थिक समितिमा सदस्यहरु दिलु लिङदेन लावती, कविन्द्र सेर्मा, दिलु सुब्बा र गीता खजुम रहेका छन् । यसरी नै प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समितिमा संयोजक नरेन्द्रराज केरुङ त्यसैगरी सदस्यहरुमा मौसम माखिम र प्रेम तुम्बाहाङ रहेका छन् ।
त्यस्तैगरी प्रचारप्रसार समितिको संयोजकमा दिल कुमार लावती, सदस्यहरुमा सन्देश सुब्बा सेन्लप र अर्जुन लिम्बु रहेका छन् भने खाना तथा आवास व्यवस्थापनमा कियाचू मोरङ जिल्ला अध्यक्ष डिबी कुरुम्बाङ, उपाध्यक्ष कुलबहादुर हाङस्रोङ र पथरीशनिश्चरे अध्यक्ष विक्रम पङयाङगो रहेका छन् । यसरी नै केलाङ नृत्य तथा विभिन्न जातीय झाँकी व्यवस्थापनका लागि अर्जुन लिम्बुको संयोजकत्वमा डम्बर कुरुम्बाङ र विक्रम पङयाङगु सदस्य त्यसैगरी कलाकार गायक तथा गायिका व्यवस्थानमा जितेन पन्धाक, मनकुमारी पन्धाक र सन्देश निङलेकुलाई जिम्मेवारी दिइएको छ ।
करिब चार लाख खर्च हुने अनुमानित प्रदेश अधिवेशनलाई सभ्य र भव्य बनाउन झापा, मोरङ र सुनसरीबाट बृहत रुपमा सहभागी गराउने मुख्य सचिव केरुङले बताए । साथै कार्यक्रममा चुम्लुङलाई योगदान पुराउने समितिलाई धन्यवादपत्रले पनि सम्मान गर्ने बैठकले निर्णय गरेको छ ।