दमकमा पत्रकार महासंघकाे आयोजनामा निर्वाचन सम्बन्धी अन्तरकृया

 लिम्बुवान न्युज
                       

दमक, बैशाख ६।  नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त आयोजनामा मंगलबार दमकमा ‘स्थानीय तह निर्वाचन २०७९’  मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले स्थानीय निर्वाचन पत्रकारको विवेक र बौद्धिकता परीक्षणको घडी भएकाले संवेदनशील हुन आग्रह गरे । उनले निर्वाचन निष्पक्ष, विश्वसनीय बनाउनका लागि सञ्चार क्षेत्रको भूमिका अग्रणी रहने बताए । उम्मेदवार तथा राजनीतिक दलबाट हुने निर्वाचन आचारसंहिताका घटनालाई निरुत्साहित गर्न पत्रकार र सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उनको जोड थियो ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले पत्रकारहरु दलको पक्ष–विपक्षमा लाग्न नहुने बताए । प्रजिअ रिजालले आचारसंहिताको पालनाले निर्वाचनलाई मितव्ययी बनाउने भन्दै त्यसको खबरदारी गर्न मिडियालाई आग्रह गरे ।

निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले निर्वाचनलाई विश्वसनीय, स्वच्छ र निष्पक्ष बनाउन सबै क्षेत्रको योगदान महत्वपूर्ण हुने बताए । उनले मतदान केन्द्रहरुलाई अपाङ्गता तथा ज्येष्ठ नागरिकमैत्री बनाइने समेत बताए । नेपालले जिल्लामा निर्वाचनको तयारी लगायतका विषयमा जानकारी गराएका थिए ।

अन्तरक्रियाको विषयमाथि पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष विमल लामिछानेले प्रकाश पारेका थिए ।   महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

छलफलमा पत्रकारहरु विष्णु पौडेल, युवराज विवश, नगेन्द्रमणि न्यौपाने, जीवन चुडाल, शान नेपाल, विष्णु पोखरेल, लीला अनमोल, आत्मराम राजवंशी, गञ्जबहादुर दाहाल, चिरञ्जीवी घिमिरे, पुष्प राज तथा संवाद समूहकी लीला शिवाकोटी लगायतले विभिन्न सुझाव तथा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य विष्णु सुब्बाले पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा आफ्ना माता पिताको स्मृतिमा १५५५५ रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...